बेँसीसहरमा एमाले विजयी

लमजुङ- सदरमुकामसमेत रहेको बेँसीसहर नगरपालिकामा नेकपा(एमाले)का उम्मेदावर विजयी भएका छन् । आज दिउँसो सम्पन्न मतगणनामा नगर प्रमुखमा पुनः एमालेकै गुमानसिंह अर्याल र उपप्रमुखमा एमालेकी पद्मा गुरुङ विजयी भएका हुन् ।

गठबन्धनका उम्मेदवार कांग्रेसका श्रीकान्त घिमिरेलाई दुई हजार आठ मतले पराजित गर्दै नगर प्रमुखमा पुनः अर्यालले जित्नुभएको हो । यसअघि पाँच वर्ष नगरपालिकाको प्रमुखमा रहेर काम गर्नुभएका अर्याल पुनः पाँच वर्षका लागि नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । विजयी अर्यालले नौ हजार ४७९ मत प्राप्त गर्नुभएको छ भने, उहाँको प्रतिद्वन्द्वी कांग्रेसका घिमिरेले सात हजार ४७१ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, प्रमुखमा राप्रपाका अजितबहादुर अधिकारीले १४६ मत प्राप्त गरेको छ भने मङ्गोल नेशनल अर्गनाइजेशनका कुलुकुमारी गुरुङले ५३ मत र जसपाका बलबहादुर रानाले ४३ मत प्राप्त गरेका छन् । विजयी अर्यालले विसं २०७४ को स्थानीय तह चुनावमा कांग्रेसका तत्कालीन सभापति भेषबहादुर पौडेललाई २९७ मतले हराउँदै निर्वाचित हुनुभएको थियो ।

त्यस्तै, उपप्रमुखमा निर्वाचित गुरुङले चार हजार १५ मतअन्तरले बढी ल्याउँदै भारी मतले विजयी हुनुभएको छ । उहाँकाले आठ हजार ७१४ मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिद्वन्द्वी गठबन्धनका माओवादी केन्द्र हरिजङ्ग तामाङले चार हजार ६९९ मत प्राप्त गरेको छ । त्यस्तै, स्वतन्त्र उम्मेदावर जीवनकुमार श्रेष्ठले एक हजार ६१५ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा राप्रपाका मेनुका कार्कीले १४८ मत र मङ्गोल नेश्नल अर्गनाइजेशनका पदममाया गुरुङले ४८ मत प्राप्त गर्नुभयो ।

बेँसीसहर नगरपालिकामा ११ वटा वडा रहेकोमा एमालेबाट वडा नं १ मा दुर्गाबहादुर बुढाथोकी, २ मा मदनबहादुर राना, ५ मा इन्द्रबहादुर गुरुङ, वडा नं ७ मा ऋषि बस्नेत, वडा नं ८ मा पवित्रा थापा राना, वडा नं १० मा गंगाबहादुर थापा र वडा नं ११ मा शिवप्रसाद जोशी वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नं ६ मा एमालेबाट बागी उठेका स्वतन्त्र प्रकाश थापा वडाध्यक्ष बन्न सफल हुनुभएको छ । सत्ता गठबन्धनबाट कांग्रेसतर्फ वडा नंं ४ मा गमबहादुर गुरुङ र वडा नं ९ मा खुसीजङ्ग गुरुङ वडाध्यक्षमा निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट वडा नं ३ मा चित्र दनाइँ वडाध्यक्षमा निर्वाचित भएका छन् । बेँसीसहर नगरपालिकामा कूल मतदाता २६ हजार २०७ रहेकोमा १८ हजार १८५ मत खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.