स्याङ्जामा गणना सकियो, ६ मा एमाले, ५ मा कांग्रेस विजयी

स्याङ्जा- स्याङ्जाका ११ वटै पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जाका चार नगरपालिका र एक गाउँपालिकामा कांग्रेस तथा चार गाउँपालिका र एक नगरपालिकाको प्रमुखमा एमाले विजयी भएका छन् ।

पुतलीबजार, गल्याङ, भिरकोट र चापाकोट नगरपालिकाको प्रमुख-उपप्रमुख तथा अर्जुनचौपारी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको हो ।

त्यस्तै कालीगण्डकी, आँधीखोला, बिरुवा, हरिनाश, फेदीखोला गाउँपालिकाको अध्यक्ष-उपाध्यक्ष तथा वालिङ नगरपालिकाकाका प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा कांग्रेसकी कविता तिवारी गैह्रे विजयी हुनुभएको हो ।

गाउँपालिकामा एमाले बलियो र नगरपालिकामा कांग्रेस बलियो देखिन्छ । यसअघि नेकपा (एमाले)ले प्रमुख, उपप्रमुखसहित बहुमत वडाध्यक्ष जितेको पुतलीबजार नगरपालिकाको प्रमुख÷उपप्रमुख यसपटक नेपाली कांग्रेसले जितेको छ । नेपाली कांग्रेसका तुल्सीराम रेग्मी प्रमुखमा र देवी अर्याल उपप्रमुखमा विजयी हुनुभएको हो ।

विसं २०७४ मा नेकपा एमालेले जितेको गल्याङ नगरपालिकामा यसपटक नेपाली कांग्रेसले प्रमुख÷उपप्रमुखमा जितेको हो । गल्याङमा नेपाली कांग्रेसका तर्फबाट गुरुप्रसाद भट्टराईले नौ हजार २९ मत ल्याएर नगर प्रमुखमा विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका सूर्यप्रसाद गैह्रे पारसले आठ हजार ९२२ मत ल्याउनुभयो ।

त्यस्तै नगर उपप्रमुखमा हेमा न्यौपाने नौ हजार ११८ मतसहित विजयी हुँदा प्रतिस्पर्धी देवीसरा थापाले नौ हजार ५५ मत प्राप्त गर्नुभयो ।

त्यस्तै भिरकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गोविन्दकुमार कर्माचार्य छ हजार ५०४ मतसहित विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी विश्वनाथ अर्यालले पाँच हजार ६६९ मत ल्याउनुभयो ।

उपप्रमुखमा नेपाली कांग्रेसकै भगवती अर्याल सात हजार १९७ मत ल्याएर विजयी हुँदा उहाँकी प्रतिस्पर्धी सरस्वती अधिकारीले चार हजार ९२८ मत प्राप्त गर्नुभयो । भिरकोटमा कूल ४७ सिटमा नेपाली कांग्रेसले ४६ सिटमा जितेको थियो । चापाकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका देवबहादुर खाँण (ईश्वर) सात हजार ४९० मतसहित विजयी हुनुभएको छ ।

उहाँले नेकपा एमालेका राजु कोइरालालाई पराजित गरी विजयी हुुनभएको हो । कोइरालाले छ हजार ५५५ मत ल्याउनुभयो । उपप्रमुखमा नेपाली कांग्रेसकै इशा राना सात हजार ४१३ मतसहित विजयी हुँदा नेकपा एमालेकी सृष्टी मल्लले छ हजार ३७६ मत प्राप्त गर्नुभयो । त्यस्तै वालिङ नगरपालिकामा नेपाली कांग्रेसले उपप्रमुख जितेको छ ।

उपप्रमुखमा कांग्रेसकी कविता तिवारी गैह्रेले १२ हजार ८२२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँकी प्रतिस्पर्धी नेकपा एमालेकी खगिसरा थापाले १२ हजार ३४० मत प्राप्त गर्नुभयो । थापा २०७४ को निर्वाचनमा पनि उपप्रमुखमै पराजित हुनुभएको थियो ।

अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश तिवारीले पाँच हजार २९१ मत ल्याएर विजयी हुँदै गर्दा उहाँकी प्रतिस्पर्धी चीनमाया गुरुङले तीन हजार ३४७ मत ल्याउनुभयो । उपाध्यक्षमा कांग्रेसकै सपना गुरुङ चार हजार ८२७ मत ल्याएर विजयी हुनुभयो । उहाँलाई पछ्याउँदै नेकपा एमालेका टङ्कप्रसाद खनालले तीन हजार ७६७ मत ल्याउनुभयो ।

वालिङ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका कृष्ण खाँण विजयी हुनुभएको छ । उहाँ नेपाली कांग्रेसका दिलीपप्रताप खाँणलाई पराजित गर्दै नगर प्रमुखमा विजयी हुनुभएको हो । विजयी खाँणले १३ हजार ७७६ मत ल्याउनुभयो भने पराजित खाँणले ११ हजार ९९६ मत प्राप्त गर्नुभयो ।

कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खिमबहादुर थापा चार हजार ७६९ मतसहित विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी माया रानाले पाँच हजार ५५ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकै सावित्रा कोइराला छ हजार २२३ मतसहित विजयी हुनुभएको हो । कोइरालालाई पछ्याउँदै जनमुक्ति पार्टीका बमबहादुर लामिछानेले चार हजार ८३९ मत ल्याउनुभयो ।

त्यस्तै आँधीखोला गाउँपालिकाको अध्यक्षमा एमालेका विश्व पौडेलले पाँच हजार १७७ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका कमलप्रसाद पौडेलले चार हजार ३५१ मत ल्याउनुभयो । उपाध्यक्षमा एमालेकै सीता थापाले पाँच हजार २७३ मतसहित विजयी हुनुभयो भने उहाँलाई पछ्याउँदै एकीकृत समाजवादीका रामप्रसाद पौडेलले तीन हजार ८१७ मत प्राप्त गर्नुभयो ।

बिरुवा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सूर्य कुँवरले चार हजार ८७२ मत ल्याउनुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका डोलराज पोखरेलले चार हजार ७४६ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा नेकपा एमालेकै भगवती शर्माले चार हजार ९३७ मतसहित विजयी हुँदा माओवादी केन्द्रका थमबहादुर गुरुङले तीन हजार ६७६ मत प्राप्त गनुभयो ।

हरिनाश गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खिमनारायण मानन्धरले चार हजार ७६९ मत ल्याएर विजयी हुँदै गर्दा उहाँलाई पछ्याउँदै नेपाली कांग्रेसका टोपबहादुर भुजेलले चार हजार ७३२ मत प्राप्त गर्नुभयो । उहाँहरुबीच ३७ मतान्तर छ । त्यस्तै उपाध्यक्षमा पनि एमालेकै इन्द्रकुमारी राना विजयी हुनुभयो । विजयी रानाले चार हजार ७४० मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी माओवादी केन्द्रकी मिठु लम्सालले चार हजार ७१६ मत ल्याउनुभयो । उहाँहरुबीचमा पनि २४ मतको फरक छ ।

फेदीखोला गाउँपालिकाको अध्यक्षमा घनश्याम सुवेदी तीन हजार ८३६ मत ल्याएर विजयी हुनुभयो । प्रतिस्पर्धी लक्ष्मीप्रसाद बरालले तीन हजार ७०४ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङ तीन हजार ९७८ मत ल्याएर विजयी हुँदा माओवादी केन्द्रका शिवप्रसाद सुवेदीले दुई हजार ३७९ मत ल्याउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.