ऐतिहासिक पनौती जात्रा सम्पन्न

काभ्रे- ऐतिहासिक पनौती नगरको प्रमुख जात्रा पनौती जात्रा सम्पन्न भएको छ । पनौती जात्रा तीन दिनसम्म मनाइने चलन छ । यस जात्रालाई पनौतीवासीले निकै महत्वकासाथ मनाउने गर्दछन् ।

यहाँ जात्रा भर्न टाढा टाढाबाट समेत मानिसहरु आउने गर्दछन् ।

पनौती सांस्कृतिक एवम् पुरातात्विक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । यहाँका पुरातात्विक, सांस्कृतिक सम्पदाले छुट्टै महत्व बोकेको छ । यहाँका संस्कृति, धर्मसँग सम्बन्धित विभिन्न जात्रा, पर्वहरू पनि पनौती नगरको अर्को परिचय हो । पनौती जात्रा, बाह्रवर्षे मकरमेला लगायत यहाँका प्रमुख र महत्व बोकेको पर्व हो ।

पनौती जात्रा तीन दिन सम्म जेष्ठ त्रयोदशी, चतुर्दशी र पूर्णिमासम्म चल्दछ । त्रयोदशीको दिनलाई डुइचा ङायकेगु भनिन्छ । स्थानीय समुदायमा त्रयोदशीको दिनलाई कुलक्या पनि भन्ने गरिन्छ ।

चतुर्दशीको दिनलाई मुःजात्रा भनिन्छ । यो दिन बिहानैदेखि ब्रम्हायणीको मन्दिरमा सर्वसाधारणको भीड लाग्ने गर्दछ । यसदिन सर्वसाधारणले आफ्नो गच्छे अनुसार श्रद्धापूर्वक ब्रम्हायणी मन्दिरमा गई पूजा गर्ने, बलि दिने गर्दछन् ।

तेस्रो दिन इन्द्रश्वर महादेब, उन्मत्त भैरव र भद्रकालीको रथ एक आपसमा जुधाएर भब्य सिन्दु जात्रा गरिन्छ । यो रथ जुधाएर गरिने जात्रालाई कसैले हिले जात्रा, कसैले घुम जात्रा, कसैले ज्यापुन्हि जात्रा भन्ने गर्दछन् ।

जेष्ठ पूर्णिमाको दिन टाढाटाढाबाट जात्रा हेर्न आउने मानिसहरूको यहाँ ठूलो भीड लाग्छ । पनौतीको लायकु डबलीमा इन्द्रेश्वर महादेव, भद्रकाली र उन्मत्तभैरवका रथहरू एक–आपसमा जुधाई जात्रा गरिन्छ । सबैभन्दा पहिले पूर्णिमाको बिहान ब्रम्हायणीमन्दिरमा जोर बोकाको बलि दिइन्छ । बलि दिएपछि ब्रम्हायणी र भद्रकालीलाई मन्दिर बाहिर ल्याई उत्तरतर्फको पार्टीमा राखिन्छ ।

त्यसपछि पालो पर्ने दुई जना पूजारीले आ–आफ्ना घरबाट पूजा सामग्री ल्याई पूजा गरेर हाँसको बली दिइन्छ । हाँसको बलिसहित पूजा सम्पन्न भएपछि पालो पर्ने पुजारी मध्येबाट द्वारेलाई खड्ग दिइन्छ ।

यहाँ टाढाटाढाबाट जात्रा हेर्न आउने मानिसहरूको ठूलो भीड लाग्छ । छिमेकी सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाडौं, भक्तपुर, ललितपुर देखिका मानिसहरु जात्रा हेर्न आउने गरेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.