तल्लो मनाङका किसानलाई खेती भित्र्याउने चटारो

मनाङ-  हिमाली जिल्ला मनाङका किसानले करु खेती भित्र्याउन थालेका छन् । तल्लो मनाङको नांसो गाउँपालिका र चामे गाउँपालिकाका किसानले करु लगायतका बाली भित्र्याउन थालेका हुन् ।

जिल्लाको तल्लो मनाङका भेगहरुमा चैतमा लगाइएको बाली वर्षायाम सँगै गहुँ , करु काटेर अहिले भित्र्याउन लागेको नांसो गाउँपालिका– ८ ताचेका कृषक हुमजंग गुरुङले बताउनु भयो ।

जिल्लामा अन्य समयमा हिउँले सेताम्य हुने यहाँ अहिले करु र गहुँ पाकेर पहेंलपुर अवस्थामा रहेको छ । बिहानदेखि बेलुकीसम्म यहाँका सबै स्थानीयवासी खेतबारीमै व्यस्त हुने गरेका छन् । यहाँ चामे गाउँपालिकाको थानचोक , तिमाङ र चामे, नांसो गाउँपालिकाकाको ताचै, तिल्चे र नाचेका किसानहरुले सो खेती भित्र्याउन थालेका हुन् ।

करु भित्र्याउनका लागि गाउँभरिका किसान परम्परागत शैलीमा अर्मपर्म गर्दै समुह बनाएर काम गरिहेका छन् । हिमालमा धेरै पानी पर्दैन ,तर पछिल्लो समय हिमाली जिल्लाहरु अत्याधिकरुपमा पानी पर्दा बाढी पहिरो जाने गरेका छन् । गत वर्षको असार महिनामा मनाङमा अविरल वर्षापछि आएको बाढि पहिराले भौतिकरुपमा ठूलो क्षति पुर्‍याएको थियो ।

वर्षापछि आएको पहिराले अबरुद्ध भएको राष्ट्रिय प्रशारणको लाईन अहिलेसम्मपनि जिल्लामा उचितरुपमा मर्मत नहुदा किसानहरु मारमा परेका छन् । किसानले आफुहरुसँग भएका कृषि औजार पनि बाली भित्र्याउने बेलामा विद्युतका कारण प्रयोगमा ल्याउन नसकेको बताएका छन् ।

तल्लो मनाङ अन्न भन्डारकाे रुपमा चिनिन्छ । धान उत्पादन नहुने हिमाली जिल्लामा मकै , गहुँ , करु, फापर, आलु जस्ता खेती उत्पादन हुँदै आएको छ । तल्लाे मनाङमा अहिले खेति थन्काउने समय भएकाे छ भने माथिल्लाे मनाङमा खेति लगाउने समय भएकाे छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.