मनाङको नार्पाभूमि गाउँपालिकाले ल्यायो २१ करोडको बजेट

मनाङ- हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०७९÷८० का लागि २१ करोड ४५ लाख ५३ हजारको बजेट ल्याएको छ ।

उपाध्यक्ष मेङमर फुन्चो लामाले प्रस्तुत गरेको बजेटमा सङ्घीय सरकारको सशर्त अनुदानबाट चार करोड २२ लाख , वित्तीय समानीकरण अनुदानबाट रु सात करोड १७ लाख , समपुरकबाट ७५ लाख , विशेष अनुदानबाट दुई करोड १० लाख, राजस्व बाँडफाँटबाट चार करोड ३० लाख ९९ हजार , प्रदेश सरकारको समानीकरण अनुदानबाट रु २५ लाख ८४ हजार, राजस्व बाँडफाँटबाट रु तिन लाख ४५ हजार र समग्रबाट ४० लाख रहेको छ ।

पालिका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले बाटोलाई पहिलो प्राथमिकता दिइएको बताउनु भएको छ । उहाँका अनुसार हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिका विकट पालिका हो । यहाँ अहिलेसम्म पनि मोटरबाटो आएको छैन । पैदल र खच्चडको भरमा खाद्यान्न ढुवानीदेखि हरेक कार्य गर्नमा समस्या भएको बताउनु भयो । त्यसैले पालिकालाई मोटरबाटो संग जोड्ने गाउँपालिकाको पहिलो प्राथमिकता भएको बताउनु भएको हो । गाउँपालिकाले मोटरबाटो संगै तिन वटा वडामा राष्ट्रिय प्रशारण लाईन जोड्ने कार्यक्रम समेटिएको छ ।

पालिकाको पाँच वटा वडाहरु मध्ये दुई वटा वडामा मात्र राष्ट्रिय प्रशारण लाइन आएको छ भने अझैसम्म पनि तीन वटा वडामा विद्युतको पहुँच पुगेको छैन । त्यस्तै गाउँभित्र सञ्चार , टेलिफोन र नेटवर्कको कार्यक्रम पनि समेटिएको छ । यस्तै गाउँपालिकाले कृषि क्षेत्रतर्फ उवा र आलु पकेट क्षेत्र गराउने कार्यक्रम समावेश गरेको छ ।

नार्पाभूमिमा आलु र उवा बढी उत्पादन हुने गर्दछ । सो गाउँसभाको अध्यक्षता गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले गर्नु भएको थियो । देशभरका अधिकांश स्थानीय तहले असार १० गतेभित्र नै बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.