कर्मचारीलाई तहगत रुपमा लैजाँदा समानता : मन्त्री श्रेष्ठ

काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले सङ्घीय निजामति ऐनमा सबै कर्मचारीलाई तहगतरुपमा लैजाँदा कर्मचारीबीचमा समानता कायम हुने बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले ‘ब्याच प्रमोसन’ गर्दा कर्मचारीको मनोबल उच्च हुने उल्लेख गर्नुभयो । स्थानीय र प्रदेशमा तथा सङ्घको पनि स्वास्थ्य सेवामा तह व्यवस्था रहेको छ । कतिमा तहगत र कतिमा श्रेणीगत व्यवस्था भएकाले एउटै र समान बनाउन लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “निश्चित् अवधिमा तहगत रुपमा लैजाँदा कर्मचारीको मनोबल बढ्छ ।”

सङ्घीय निजामति कर्मचारी ऐन पारित हुँदा कर्मचारीको मनोबल बढ्ने र प्रशासनमा भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने मन्त्री श्रेष्ठको भनाइ छ । विगतमा सरकारले तीन तहमा कर्मचारीको सङ्ख्या यकिन गरिसकेको उहाँले बताउनुभयो ।

मन्त्रालय सङ्घीयता कार्यान्वयनका लागि महत्वपूर्ण विधेयक अघि बढाउन लागेको उहाँले बताउनुभयो । उहाँका अनुसार सङ्घीय निजामति कर्मचारी ऐन र सङ्घीय मामिला प्रशिक्षण प्रतिष्ठान दर्ता गरेर सदनमा प्रस्तुत गरिनेछ । अहिले राजनीतिक दलहरुको महाधिवेशन र त्यसपछि स्थानीय तह निर्वाचनका कारण यो अघि बढाउन ध्यान नपुगेको उहाँको भनाइ छ । अहिले संसद् चालु भइरहँदा नै विधेयक दर्ता गरिने मन्त्री श्रेष्ठले बताउनुभयो । विश्वस्तरको सङ्गठन ‘फोहम अफ फेडेरेसन’ मा जान प्रयास गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार मन्त्रालयले स्थानीय तहमा निर्वाचितलाई प्रशिक्षण दिइरहेको छ ।

कर्मचारीलाई सेवामुखी बनाएर भ्रष्टाचारमुक्त बनाउन आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । प्रशासनलाई पारदर्शी, अनुमानयोग्य बनाउने र चक्रिय सरुवा लागू गर्न लागिएको उहाँले बताउनुभयो । काज सरुवा तीन महिना बढी अवधिका लागि हुनुहुँदैन भन्ने मान्यता भए पनि कर्मचारी अभावले कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो ।

अहिले पनि धेरै स्थानीय तहमा तोकिएभन्दा तल्ला तहका कर्मचारीलाई जिम्मेवारी दिनु बाध्यता भएको उहाँको भनाइ छ । निर्वाचन आयोगबाट गत चैत १५ गतेपछि सरुवा नगर्नु भन्ने पत्र आएको र अहिले आवको अन्तिम महिना भएकाले पनि तीनचार महिनादेखि सरुवा नगरिएको उहाँले बताउनुभयो । निर्वाचित प्रमुख र गाउँपालिका अध्यक्षले कर्मचारी नभएर बजेट निर्माणमा नै समस्या भएको भनेर अनुरोध गर्दा थोरै ठाउँमा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

कतिपयबाट राजनीतिक पूर्वाग्रह राखेर सरुवामा चलखेल भयो भनेर प्रचारप्रसार भइरहेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रालयमा सम्बन्धित मन्त्रालयले नै गर्ने हो, हामीले अन्तर मन्त्रालय वा अन्तर तह मात्रै सरुवा गर्ने हो ।” सङ्घीयता जनतालाई सुविधा दिन वा सेवाग्राहीलाई नजिकबाट सेवा दिनका लागि लागु भए पनि हिमाली क्षेत्रमा स्थानीय तहको केन्द्रमा आउन समस्या रहेको उहाँले बताउनुभयो । नागरिकलाई सुविधा दिन एउटा वडाका धेरै ठाउँमा सेवा केन्द्र राख्न सकिने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.