ढकमक्क कमल !

रुकुम पूर्व- लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला हो -रुकुम पूर्व । अनि रुकुमपूर्वको अस्थायी मुकाम हो- रुकुमकोट ।

यो सुन्दर नगरी हुँदै नेपालको सातवटा राष्ट्रिय गौरवको आयोजना मध्यको एउटा आयोजना, मध्यपहाडी लोक मार्ग बीच भागबाट छिचोलेर गएको छ । यसको छेउमै छ- सुन्दर ‘कमल दह’ ।

उत्तर दक्षिण मोहडामा फैलिएको ‘कमल दह’को पश्चिममा मानवबस्ती, दक्षिण र पूर्वमा जंगल, उत्तरमा मध्यपहाडी लोकमार्ग रहेको छ ।

त्यहाँबाट आँखै अगाडि देखिने काञ्जिरोवा हिमश्रृंखलाको सिस्ने हिमाल छ । सिस्ने गाउँपालिकाको ५ नम्बर वडा अन्तर्गत रुकुमकोटको सुन्दरता र पहिचान बोकेको सुन्दर प्रकृतिको काखमा रहेको छ- कमलदह ।

यतिबेला दह वरिपरि ढकमक्क फुलेको  कमलको फूलले साँच्चै कमल दहको नामलाई न्याय गरिरहेको महसुस हुन्छ । सुन्दर कमलका फूलले रुकुमकोटको सौन्दर्यलाई थप उचाइमा पुर्‍याएको छ ।

पर्यटकीय स्थलको हिसाबले कमल दह एक आकर्षक केन्द्र हो । अहिले ढकमक्क फुलेको कमल फूलको सौन्दर्यले आन्तरिक पर्यटकको मनै लोभ्याइ दिएको छ ।

दहको पूर्वी भाग बाहेक छेउछाउ सबैतिर कमल फुलेको साथसाथै जल चरिले डुबुल्की मारिरहेको देख्न पाइन्छ । असारदेखि भदौ महिनासम्म ढकमक्क सुन्दर कमलका फूलले दह रङ्गिन बगैंचा झैं देखिन्छ ।

यसैले त जिल्ला भित्र तथा छिमेकी जिल्लाबाट अन्तरिक पर्यटकहरु यहाँ आएर आनन्द लिने गर्दछन् ।

पहिलोपटक पुग्नेहरु दिनभर तालको सौन्दर्यसँगै रमाउँछन । तालको आकाशे सौन्दर्यसँगै कमल फूलको सुगन्ध-आहा !

लोपोन्मुख जडिबुटी कमल पाइने लुम्बिनी प्रदेशको एक मात्र कमलदह पर्यटकीय महत्वका हिसाबले निकै महत्वपूर्ण रहेको छ ।

धार्मिक तथा पर्यटकीय दुवै हिसाबले महत्वपूर्ण मानिएको कमलदहमा हरेक जातका जलपन्छीहरूले डुबुल्की मारिरहेको हेर्दा पर्यटहरूलाई आनन्दित तुल्याउँछ । करिब २ किलोमिटर क्षेत्रफलमा यो दह फैलिएको छ ।

काठमाडौं र नेपालगञ्जबाट हवाइ तथा अन्य ठाउँबाट बसबाटै कमल दहसम्मको यात्रा तय गर्न सकिन्छ । हवाइ यातायातको लागि रुकुम पश्चिमको सदरमुकाम मुसिकोटको सल्ले विमानस्थलबाट केही घण्टाको सडक यात्रामार्फत पनि यहाँ पुग्न सकिन्छ ।

आजभोलि गाडिबाट सल्यान रुकुम-पश्चिम वा बाग्लुङ भएर मध्यपहाडी लोकमार्गमा यात्रा गर्नेहरु पनि उल्लेख्य छन ।

दह छेउमा हरेक वर्ष शिवरात्रि, चैते दशैँ, हरितालिका तिज र दशैँमा पुजापाठ र सांस्कृतिक कार्यक्रम आयोजना हुने गर्छ ।

तालमा कमल पाइने भएकाले यहाँ नुहाएमा विभिन्न रोग निको हुने जनविश्वास रहेको छ ।

जाडो याममा आकर्षक घुमन्ते चराहरू आउने गरेको स्थानीय बासिन्दाहरूले बताएका छन् । कमलको जरा मधुमेह, उच्च रक्तचाप र कमलपित्त रोगको लागि औषधिको रुपमा सेवन गर्ने गरिन्छ ।

कमलको फूल उपचारको लागि बिक्रि वितरण पनि हुने गरेको स्थानीय बताउँछन । ताजा कमलको फूल प्रतिकिलो ८ सय र सुकेको फूल प्रतिकिलो १५ सय रुपैयाँसम्ममा किनवेच हुने गरेको छ। यसको संरक्षण र व्यवस्थापन भने गाउँपालिकाले गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.