श्रीमान् बितेको ५७ वर्षपछि पेन्सन

काभ्रे– तत्कालिन शाही नेपाली सेनामा कार्यरत श्रीमान् वितेको ५८ वर्षपछि पनौती–११ की ८४ बर्षीय महिलाले निवृत्तीभरण (पेन्सन) पाउनुभएको छ । दार्चुलाको टिंकचर चेकपोष्टमा कार्यरत रहेकै बेला २०२१ साल भदौमा तत्कालीन बझाङी राजाका निजी सेनाको आक्रमणमा परेर मारिएका दुर्गाबहादुर थापाकी श्रीमती रत्नमायाले ५७ वर्षपछि पेन्सन पाउनुभएको हो ।

२०१३ सालमा सेनामा भर्ती भएका दुर्गाबहादुर मृत्यु हुँदा ३० बर्षका थिए । पनौती आएका बेला तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापालाई घटनाबारे बताएपछि उहाँले प्रक्रिया थाल्नुभएको हो । ‘निकै खुशी भएकी छु, ढिलै भएपनि न्याय पाएकी छु,’ रत्नमायाले भन्नुभयो, ‘राज्यको लागि गरेको सेवाको अहिले सम्मान भयो ।’

रत्नकुमारीका अनुसार, सञ्चार, सडक, यातायातको सुविधा नभएको कारण एकमहिनापछि मात्रै श्रीमान्को मृत्युको खबर पाउनुभएको थियो । ‘एक महिनापछि मात्रै धागोले बाधेको चिठ्ठी आयो,’ रत्नकुमारी भन्नुहुन्छ, ‘श्रीमान् मृत्युको खबर बोकेको पत्र आउँदा छोरा एक लर्षको थियो ।’ छोरा नवराजका अनुसार, गाउँ नजिकैका चिनजानका जमानसिं तामाङ पनि सोही स्थानमा रहेकोले अन्तिम संस्कार गरेको खबर आएको रहेछ । ‘बुबा वित्दा म एक बर्षको मात्र थिए, त्यसपछि निवृत्तीभरण लगायतका सेवाको लागि पहल गरेपनि सुनुवाइ भएको थिएन,’ नवराजले भन्नुभयो, ‘चिफसाव काभ्रे आएका बेला भोला थापालगायतले भेटेर कुरा राखिदिनुभयो, उहाँले अग्रसरता लिएर काम अघि बढाएपछि पेन्सन आउने भयो ।’ रत्नमायाले मासिक २१ हजार पाउनुहुनेछ ।

श्रीमती दिपा, नातिनीसहित पूर्व प्रधानसेनापति थापा रत्नकुमारीलाई भेट्न बल्थली पुग्नुभएको थियो । पेन्सन पाउने अवस्था सिर्जना गरेको भन्दै थापा परिवार र स्थानीयले पूर्वप्रधानसेनापति थापाप्रति आभार प्रकट गर्नुभयो । थापाले रत्नबहादुरको बारेमा छानविन गर्दा योगदान प्रमाणित भएकोले ढिलै भएपनि सेवा सुविधा उपलव्ध गराएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा नेपाली सेनामा कार्यरत अन्य सैनिक परिवारलाई पनि राहत दिलाएको दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.