विकासका लागि अब नयाँ मोडल : दाहाल

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको आर्थिक समृद्धिका लागि विकासको नयाँ मोडेलको विकास हुनपर्ने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउन आवश्यक रहेको बताउनुहुँदै साे धारणा राख्नुभएकाे हाे । उहाँले नेपालको विकासको स्वरुप आफ्नै प्रकारको हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले राजनीतिक परिवर्तनको निम्ति धेरै संघर्ष गर्‍यौँ । अब देशको स्थायित्व र विकासको निम्ति सम्पूर्ण तागत लगाउन आवश्यक छ । मैले गर्ने संकल्पमा अब एकचोटी फेरि देशको आर्थिक समृद्धिको निम्ति नेपाली जनताले चाहेअनुसार विकासको एउटा नयाँ मोडेलको विकास गर्नकै निम्ति आफूलाई समर्पित गर्ने मैले प्रतिवद्धता व्यक्त गर्दै आएको छु ।”

उहाँले विकासको वातावरण बनाउनका लागि उत्पादन अभिवृद्धि गर्ने, आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने, निर्यात प्रवर्द्वन गर्ने र आयात प्रतिस्थापन गर्ने लगायतका काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विगतमा कतिपयले सिंगापुर, स्वीट्जरल्याण्ड, जापानजस्तो इत्यादी भन्ने गरे पनि तर, अहिले सबैतिरको स्थिति हेरे पनि नेपालको विकास नेपाली मोडेलकै हुनुपर्ने बताउनुभयो । देशको इतिहास, भुगोल, संस्कृति, जातीय बनोटअनुसार नै सो मोडेलको विकास गर्नुपर्ने उहाँको भनाइ छ ।

यसका लागि उत्पादन अभिवृद्धि गर्ने, आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने, निर्यात प्रवर्द्वन गर्ने, आयात प्रतिस्थापन गर्ने, साथसाथै त्यो उत्पादन कार्यलाई अगाडि बढाएर राष्ट्रलाई समृद्ध बनाउनको निम्ति कला, संस्कृति, पत्रकारिताको वा विभिन्न क्षेत्रमा कार्यरत सबै श्रष्टाहरुको निकै ठूलो भूमिका रहने उहाँले चर्चा गर्नुभयो । यसले मानिसको जीवन र समाज सुमधुर बनाउन सहयोग गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.