निर्वाचन तयारी : मतदाता नामावली अद्यावधिक सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आजदेखि मतदाता नामावली अद्यावधिक गरिदैछ । यसअन्तर्गत आज सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन् ।

नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवं कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा नाम कायम राख्न भोलिदेखि १५ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ । मृत्यु भएका एवं नागरिकता त्याग गरेका मतदाताको नाम सूचीबाट हटाउन भोलि देखि १६ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिनेछ ।

यसअघिको निर्वाचनमा मृत्यु भएका तथा विदेशमा भएका व्यक्तिको नाम मतदाता सूचीमा रहेको भन्दै आयोगको आलोचना भएको थियो । आयोगले यसअघि नै आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने निर्णय गरिसकेको छ । आगामी मङ्सिर ३ गतेभित्र १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ । त्यसका लागि मतदाता सूचीमा नाम दर्ता भएको हुनुपर्नेछ ।

मतदाता नामावली अद्यावधिक भएपछि आगामी भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

यसैबीच आगामी मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिन दलहरुले निवेदन दिने समय आज सकिदैछ । निर्वाचन आयोगका अनुसार भदौ १० गतेदेखि निवेदन दिन सुरु भएकोमा आज कार्यालय समयभित्र निवेदन दिइसक्नुपर्ने छ ।

दुई दिनमा आयोगमा प्रतिनिधिसभातर्फ ४३ दल र प्रदेश नं। १ मा ३५, मधेस प्रदेशमा ३८, बागमती प्रदेशमा ३९, गण्डकी प्रदेशमा ३५, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा ३२ र सुदूरपश्चिम प्रदेशमा ३४ दलले निवेदन दर्ता गरएको आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

समानुपातिक निर्वाचन प्रणालीका लागि मनोनयन दर्ता भएका राजनीतिक दलहरुले असोज २ र ३ गते बन्द सूची पेश गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.