कामपाको अभियान जारीः कहाँकहाँ भत्काइए अनधिकृत संरचना

काठमाडौं- करिब एक महिनाको अवधिमा काठमाडौँ महानगरपालिकाले ३९ स्थानका अवैध संरचना हटाएको छ । यही भदौ ६ गतेदेखि सुरु गरेको अभियानअन्तर्गत कामपाले १९ स्थानका बेसमेन्ट तथा जमिन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ । बीस ठाउँका मापदण्डविपरीत निर्माण गरिएका अनाधिकृत संरचना हटाएको छ ।

नक्सा पास नभई निर्माण भएका र नक्साअनुसार निर्माण भए पनि सोहीअनुसार प्रयोग नगरिएका र सार्वजनिक जग्गा मिचेर नर्माण गरिएको सबै संरचना अवैध ठहर गर्दै कामपाले उक्त संरचनामा डोजर लगाएर भत्काउन थालेको हो ।

त्यसका लागि कामपाले गत साउन १ गते ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । उक्त सूचनाको व्यवस्था गरेको भन्दै कामपाले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन सुरु गरेको हो । बेसमेन्ट तथा जमिन तलालाई पार्किङरुपमा खाली गराइएका ठाउँमध्ये वडा नं १ दरबारमार्ग दुई वटा भवन छन् । यिनीहरु नेपाल ट्रस्ट र दरबार मलको भूमिगत तला हुन् ।

वडा नं १४ कलङ्कीमा रहेको स्मार्ट तारा हाउसको भूमिगत तलामा रहेको कपडा पसल र एभरेष्ट गेष्ट हाउसको भूमिगत तलामा रहेको खाजा घर पनि हटाउने काम गरिएको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।

वडा २६ सामाखुसीमा रहेको पुरानो अल नेपाल अस्पताल र खड्का भवन तथा रानीबारीमा रहेको सेञ्चुरी बैंक परिसरभित्र रहेका अनधिकृत पसल हटाइएका छन् । वडा नं १० बानेश्वरमा पर्ने पाँच जनाको स्वामित्व रहेको बानेश्वर प्लाजाको ई ब्लकमा भएको संरचना हटाएर पाँचवटै घरको पार्किङ बनाउने काम भएको छ ।

वडा नं २२ सुन्धारास्थित काठमाडौँ मलको भुइँ तलामा रहेको सटर हटाएर पार्किङका लागि खाली गरिएको छ । यही वडामा रहेको आरबी कम्प्लेक्स परिसरमा रहेका अनधिकृत टहरा हटाइएको छ । वडा नं २४ मा पर्ने सुरज आर्केट र कासा भवनको भुइँतला खाली गराइएको छ ।

कहाँकहाँ भत्काइए अनधिकृत संरचना

वडा ५ क्षेत्रका सार्वजनिक ठाउँमा बनाइएका संरचना हटाइएको छ । वडा नं ८ पाशुपत क्षेत्र सडक पेटीमा रहेको अनधिकृत संरचना, ओभरल्यापिङ र विज्ञापनमूलक सामग्री हटाइएको छ ।

त्यस्तै वडा १० को देउराली क्लब वरिपरि सडक पेटीमा राखिएका निर्माण सामग्री हटाइएको छ । वडा १६ को ढुङ्गेधारा, वडा १७ को धोबीचौर, वडा २४ को सुरज आर्केड अगाडिको सिँढी हटाइएको छ । वडा १६ कै माछापोखरी नापतौल कार्यालय अगाडि र महादेव खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका स्थायी र अस्थायी गरेर ४३ वटा संरचना हटाइएको छ ।

वडा २४, २५ र २७ सँग जोडिएका असन, इन्द्रचोक, वडा २४ को मखनदेखि विशालबजारतर्फ आउने गल्लीका, वडा २५ मा रहेका शन्तानेश्वर भवानी शङ्कर मन्दिर, उमाशङ्कर मन्दिर र सडक पेटीमा अतिक्रमण गरेर राखिएका संरचना संरचना हटाइएको छ ।

वडा नं २९ हनुमान स्थान चिकेन क्युन रेष्टुरेन्टको घर खाली गराइएको छ । वडा नं ३२ कोटेश्वर, अरनिको राजमार्ग दायाँबायाँ क्षेत्रमा भएका अनधिकृत संरचना, स्वीकृति नलिइ राखिएका विज्ञापन बोर्ड हटाइएको छ । नरेफाँट क्षेत्रमा माइकिङ गरेर सचेत गराइएको छ । यस्तैगरी भाटभटेनी सुपर मार्केटको भूमिगत तलालाई पार्किङका पनि खाली गराइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.