बाढी र डुबनका कारण सयौँ परिवार विस्थापित

कैलाली- कैलालीको भजनी नगरपालिका–८ का प्रताप विश्वकर्मा बाढीका कारण विस्थापित भएर हुलाकी सडकमा पुग्नुभएको छ । प्रतापसँगै सोनाहाफाटा टोलका अधिकांश स्थानीय हुलाकी सडकमा त्रिपाल हालेर आश्रय लिन थालेका छन् ।

अविरल लगातारको वर्षाका कारण पथरैया नदीको बाढीले बस्ती नै डुबानमा परेपछि पशुचौपायासहित स्थानीयले घर नै छोडेर हुलाकी सडकमा पुगेका हुन् ।

“रातिदेखि बस्तीमा बाढी पसेर जताततै जलमग्न भएको छ । घर सबै डुबानमा परेका छन् ।” उहाँले भन्नुभयो, “रातभर निदाउन पनि पाएका छैनौँ । सामान सार्न, चौपाया व्यवस्थापन गर्न र परिवारलाई सुरक्षित स्थानमा पुर्‍याउँदै रात कटेको थाहै भएन ।”

वडा नं ८ कै खेमराज पाण्डेले सयौँ परिवार बाढीका कारण विस्थापित भएको बताउँदै पीडितको व्यवस्थापनमा निकै समस्या भएको बताउनुभयो । “उच्च सेल्टर घर, केही परिवार आफन्त छिमेकीको घरमा आश्रय लिएर बसेका छन् भने सयौँ परिवार हुलाकी रोडमा छन् ।”,

पाण्डेले भन्नुभयो, “अवस्था निकै अस्तव्यस्त भएको छ । जताततै पानी मात्रै देखिन्छ । हुलाकी सडकबाट हेर्दा जताततै समुद्रको आभास हुने गरेको छ ।”

चारैतिरबाट नदीले घेरिएको भजनीका सबै वडा जलमग्न भएका छन् । सयौँ बिघा धान नदीको कटानबाट नष्ट भएको स्थानीय रामबहादुर साउद बताउनुभयो । “कान्द्राले सबैभन्दा बढी क्षति गरेको छ ।

कटानले खेतीयोग्य जमिन नष्ट भने डुबानले स्थानीयको जनजीवन निकै प्रभावित बनाइएको छ”, साउदले भन्नुभयो, “स्थानीयलाई ज्यान जोगाउन मुस्किल छ । उद्धारका लागि पनि निकै कठिनाइ भइरहेको छ ।” उहाँले अहिलेसम्म मानवीय क्षति नभए पनि धनजनको ठूलो क्षति भएको बताउनुभयो ।

नगरपालिकाका नगरप्रमुख केवल बाढीका कारण भजनी क्षेत्रको अवस्था निकै अस्तव्यस्त भएको बताउनुभयो । उहाँले नदीमा पानीको बहाव निकै उच्च भएका कारण उद्धारमा समस्या भएको बताउँदै कयौँ क्षेत्रमा बाढी र कटानका कारण सम्पर्क विच्छेदसमेत भएको बताउनुभयो । “हामी हिजोदेखि स्थानीयको सम्पर्कमा छौँ । सयौँ परिवार विस्थापित भइसकेको अवस्था छ । अधिकांशको आश्रयस्थल यतिबेला हुलाकी सडक बनेको छ”, नगरप्रमुख चौधरीले भन्नुभयो, “उद्धार सामग्रीको अभावका कारण समस्या भएको छ । नदीमा पानीको बहाव बढ्दै छ । कहाँ जाने कसको उद्धार गर्ने भन्ने अप्ठ्यारोमा हामी छौँ । अवस्था सबै ठाउँको उस्तै छ ।”

बाढीका कारण हुलाकी सडक अवरुद्ध भएको छ । भजनी नगरपालिका–८ सोनाहाफाटामा पथरैया नदीको बाढी सडकमाथि ओभर भएर कटान हुँदा आवागमन अवरुद्ध भएको स्थानीय जयप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीन सय मिटर सडक कटानमा परेको छ । “सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भजनीसँगको सम्बन्ध विच्छेद भएको छ”, ढुङ्गानाले भन्नुभयो, “डुङ्गाको सहायताको लागि नगरपालिकालाई आग्रह गरेका छौँ । स्थानीय निकै त्रसित छन् ।”-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.