यस्ता छन् बागमती प्रदेश सरकारका निर्णय

हेटौंडा- बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले दोलखाको जिरी र धादिङको रुबी भ्याली क्षेत्रलाई प्रदेश गौरवको योजनाका रूपमा समावेश गरेको छ ।

बैठकले जिरीमा मानव निर्मित ताल निर्माण गर्ने योजनालाई प्रदेश गौरवको योजनाका रूपमा समावेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णप्रसाद शर्मा खनालले जानकारी दिनुभयो । उहाँका अनुसार कूल एक अर्ब रुपैयाँ खर्च अनुमान गरिएको सो ताल निर्माणका लागि चालु आर्थिक वर्षमा १५ करोड रुपैयाँ प्रदेश सरकारले विनियोजन गरिसकेको छ । त्यस्तै मानव स्रोतसाधन सूचकमा कमजोर रहेको धादिङ जिल्लाको रुबी भ्यालीलाई पनि प्रदेश गौरवको योजनामा समावेश गरी एकीकृत विकास परियोजनाअन्तर्गत काम अघि बढाउने निर्णय भएको छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको मातहतमा रहने गरी स्थापना गर्न लागिएको विज्ञान प्रविधि विश्वविद्यालयका लागि जग्गा छनोट गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले अब ५० लाख रुपैयाँ सम्मको काम उपभोक्ता समितिबाट गराउने निर्णय गर्नुका साथै पर्यटन व्यवसायलाई उकास्न प्रोत्साहन कार्यक्रम अघि सार्ने निर्णय गरेको छ । बैठकले राष्ट्रिय खेल घोषणा भएका जुनसुकै खेलमा स्वर्ण पदक पाउने खेलाडीलाई प्रदेश सरकारको तर्फबाट प्रोत्साहन भत्ता उपलब्ध गराउने पनि निर्णय पनि गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.