थापा, पौडेल र रजकलाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार
समाजलाई अनुशासित र संविधानप्रति उत्तरदायी बनाउन प्रेस जगतको महत्वर्ण योगदान : सञ्चार मन्त्री

काठमाडौं– यस वर्षको हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले प्रदान गर्ने ५१ हजार रुपैयाँ राशीको पुरस्कार यो वर्ष नेपाल टेलिभिजन र एभिन्यूज टेलिभिजनका पत्रकारहरुले संयुक्त रुपमा प्राप्त गरेका छन् ।
हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका दोलखा सम्वाददाता मन्दिरा थापा र एभिन्यूज टेलिभिजनका सरोज पौडेल र क्यामरापर्शन सुरेश रजक पुरस्कृत हुनुभएको हो ।
पुरस्कृतहरुलाई नेपाल टेलिभिजनमा आयोजित विशेष समारोहबीच सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुरस्कार र सममानपत्र सहित सम्मान गर्नुभयो । पुरस्कार वितरण समारोहलाई सम्वोधन गर्नुहुदै सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले समाजलाई अनुशासित र संविधानप्रति उत्तरदायी बनाउन प्रेस जगतको महत्वर्ण योगदान रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल तामाङले व्यवसायिक धर्म निर्वाह गर्ने क्रममा पत्रकारहरु माथि आइपर्ने जोखिमपूर्ण स्थितिको पूर्वानुमान गर्न पुरस्कारले सहयोग गरिरहेको भन्दै प्रतिष्ठान शाखाको अभियानमा नेपाल टेलिभिजन व्यवस्थापन सधैं सहयोगी हुने बताउनुभयो ।
प्रतिष्ठान शाखाका अध्यक्ष दिपकजंग हमालले पुरस्कार वितरणसँगै आगामी दिनमा पत्रकारहरुको क्षमता अभिवृद्धिमा पनि केन्द्रित हुने योजना रहेको बताउनुभयो ।
कार्यक्रममा पुरस्कार वितरण समितिका विज्ञ वरिष्ठ सञ्चारविद् डा सुधांशु दाहालले सूचना संकलनको क्रममा पत्रकारहरुले व्यक्तिगत सुरक्षाको सवाललाई पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
पुरस्कृत पत्रकार सरोज पौडेलले पत्रकारहरुको जोखिम कम गर्ने नीति निर्माण हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले आफ्ना दिवंगत सहकर्मीद्वय हेमराज भण्डारी र सुनिल सिंहको स्मृतिमा स्थापना गरेको पुरस्कारबाट जोखिमयुक्त र साहसिक पत्रकारिता गर्दै आएका पत्रकारहरुलाई २०६३ सालदेखि वर्षेनी पुरस्कृत गर्दै आएको छ ।
नेपाल टेलिभिजनकर्मी हेम सुनिलको तत्कालिन वनराज्यमन्त्री गोपाल राई उहाँकी धर्मपत्नी मीना राई प्रसिद्ध संरक्षण विद डा हर्क गुरुङ सहितको टोलीसँगै समाचार संकलनको लागि जाने क्रममा २०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्