इटहरी–धरान सडक विस्तार सुस्त, यात्रुलाई सास्ती ठेक्कदारलाई मस्ती

सुनसरी –व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गतको विराटनगरको रानी हुँदै इटहरी–धरान जोड्ने ४९ किलोमिटर छ लेनको सडक विस्तार आयोजनाको काम सुस्त गतिमा हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । छ लेन सडक विस्तारका क्रममा यतिबेला इटहरीको तरहरादेखि धरानको तीन कुनेसम्म ठेक्का लागेर काम भइरहेको लामो समय बितिसकेको छ ।

सडक निर्माण कार्य सुस्त हुँदा सडकमा यात्रा गर्नेले भने सास्ती खेप्दै आएका छन् । “सडक खाल्डाखुल्डी र धुलोले गर्दा गाडीको बिग्रिरहन्छ”, चालक सुरज लम्सालले भनुभयो । नौ दशमलव पाँच किलोमिटर सडकखण्डको पुरानो संरचना अहिले भत्काएर सडक चौडा बनाउने काम भइरहेको छ । तर सडकमा बनेका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिमसमेत बढेको छ । विशेषगरी साना सवारी साधन मोटरसाइकल, अटो तथा कारहरु खाल्डाखुल्डीका कारण दुर्घटनामा पर्ने गरेका छन् ।

ट्राफिक प्रहरी प्रदेश नं १ इटहरीका अनुसार पछिल्लो एक वर्षमा यो सडकखण्डमा ४१ वटा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी छ जना गम्भीर र अन्य ६३ जना सामान्य घाइते भएको १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्याङ्क नै छ ।

सडक निर्माणमा लापरवाही र ढिलाइ भएकै कारण दुर्घटना बढेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यसरी दुर्घटना बढेपछि केही दिनअघि धरानका स्थानीयवासीले छ लेन सडक विस्तार आयोजना, ठेकेदार कम्पनीलगायतको ध्यानाकर्षण गराएका थिए ।

अझ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विरामी लिएर जाने–आउने एम्बुलेन्सलाई समेत ढिलाइ हुने गरेको छ । जसको असर विरामीलाई नै पर्ने गरेको छ । बर्खाको समयमा खाल्डाखुल्डी हुँदा पानी जम्ने भएकाले गर्दा धेरै नै समस्या भइरहेको सवारी चालकहरूको अनुभव छ ।

जङ्गल क्षेत्रमा अहिले रानी–धरान छ लेन सडक अयोजनाको दुईवटा ठेक्का सञ्चालनमा छन् । तरहराको पानीपियादेखि सेउती पुलसम्म हिम धुङ् प्यासिफिक जेभीले ठेक्का पाएको छ । सेउती पुलदेखि तिनकुनेसम्म रौताहा कन्स्ट्रक्सनको ठेक्का पाएको छ । सडकको दुवै साइडमा बाटो फराकिलो बनाइएको छ । तर बाटोमा थुपारिएको निर्माण समाग्रीले सडक अस्तव्यस्त बनेको छ ।

पछिल्लो समय सडक निर्माणका लागि विसं २०८० सम्म समयावधि थपिएको छ । थपिएको समयमा सडक निर्माण पूरा हुने छ लेन सडक विस्तार आयोजनाको दावी छ । छ लेन आयोजनाले इन्धनदेखि निर्माण सामग्रीमा मूल्यवृद्धिको असरका कारण काम सुस्त भएको जिकिर गरेको छ । ठेक्का सम्झौता हुँदा निर्माण शुल्कले अहिलेको अवस्थामा काम गर्न नसकिने भन्दै ठेकेदार कम्पनीहरुको कन्स्ट्रक्सन होलिडे आन्दोलनका कारण काम अड्किएको लेन सडक आयोजनाका इन्जिनियर उपेन्द्र दासले बताउनुभयो । उहाँका अनुसार सडक निर्माण सुस्त हुनुमा सामग्रीमा भएको मूल्यवृद्धिले समेत असर पारेको छ ।

ठेकेदार कम्पनीको समस्या समाधान गरेर दशैँलगतै अब पिचको काम अघि बढ्ने समेत उहाँले बताउनुभयो । कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये अब तरहरादेखि धरानसम्म विस्तार हुन बाँकी छ । दुहवी बजार र इटहरीको विराटनगर लाइनमा पनि सडक विस्तार गर्न बाँकी छ । दुहवी बजार क्षेत्रको भने घर जग्गा खाली नभएकाले विस्तार हुन सकेको छैन ।

दुहवीमा सरकारले २०५४ सालमै ६३० मिटर क्षेत्रलाई बिल्टअप क्षेत्रका रूपमा कायम गर्ने निर्णय गरेको थियो । त्यतिबेला २०५४ चैत ३ गते राजपत्रमा प्रकाशित सूचनाअुनसार दुहवी बजार क्षेत्रमा सीमा सडकको केन्द्र रेखादेखि दायाँबायाँ दुवैतर्फ २७–२७ फिट मात्र कायम गरिएको थियो ।

त्यहाँ पुरानो सरकारको निर्णयलाई अब सरकारले परिवर्तन गर्दा मात्र सडक विस्तार सम्भव छ । आर्थिक वर्ष २०६९/०७० देखि सुरु भएर सात वर्षभित्रमा सडक विस्तार गर्ने लक्ष्य राखिएको थियो । पछिल्लो पटक समय थप गरिएको छ । पूरै सडक निर्माण गर्दा शुरुमा रु १० अर्ब ९८ करोड लागत अनुमान गरिएको थियो ।

सकडमा अवरोधै अवरोध

सो सडकको सिमाना राजमार्ग (निर्माण व्यवस्था) ऐन, २०२१ बमोजिम सरकारले २०२१ साल फागुन ११ गते सूचना प्रकाशित गरी विराटनगर–धरान सडक बीचमा दायाँ २५ मिटर र बायाँ २५ मिटर गरी जम्मा ५० मिटर चौडा कायम गरेको थियो । तर सडक दायाँ–बायाँ बस्नेहरूले सरकारको सो निर्णयलाई नमानेका कारण सुनसरीको दुहवी बजारभित्र सडक विस्तार हुन सकेको छैन ।

विसं २०२१ मा गरिएको सडक सीमा निर्माणलाई कायमै राखी सरकारले सो सडकको नाम २०४३ साल जेठ २० मा आएर जोगबनी–धरान–धनकुटा राख्यो । विसं २०३४ साउन १५ गते फेरि सरकारले अर्को निर्णय गर्दै विराटनगर शहरी क्षेत्रमा भने सडकको चौडाई ३० मिटर मात्र कायम गर्यो ।

त्यसको छ वर्षपछि २०५४ साल चैत ३ गते दुहवी बजारको इनरूवा चोकदेखि लुनकरण दास च्यारिटी अस्पताल जाने सडकको मोडसम्मको जम्मा छ सय ३० मिटर लम्बाइमा भने सडकको चौडाइ १६ दशमलव ४६ मिटर मात्र कायम गरियो । यसरी पटक पटकका कानूनी निर्णयले गर्दा दुहवी बजारभित्र सडक विस्तारको काम हुन सकेको छैन ।

राजमार्ग (निर्माण व्यवस्था) ऐन, २०२१ को दफा २ अनुसार सरकारले राजमार्गको सीमा घोषणा गरेको १५ दिनपछि तोकिएको सीमाभित्रको जग्गा स्वतः सडक विभागका नाममा आउनुपर्नेमा हालसम्म पनि नामसारी भई नआएकाले सडक विस्तार गर्न आयोजनालाई समस्या भएको हो । जग्गा प्राप्ति ऐन, २०३४ को दफा २३ (३) अनुसार पनि सडक सीमा तोकिएको जग्गाको धनीपुर्जा सडक विभागका नाममा आउनु पर्ने हो ।

दुहवी बजारभित्रको सीमा विवाद र मुआब्जा विवादका कारण देखाउँदै स्थानीयवासीले ठाउँ खाली नगर्दा बुढी खोलादेखि दुहवी बजार सिरानसम्म दुई किलोमिटर सडकमा काम हुन सकेको छैन । बजारभित्रको छ सय ३० मिटर दूरीभित्रका एक सय ७७ घरको लगत लिने कार्यमा पनि स्थानीयवासीले अवरोध पुर्याउँदै आएका छन् ।

धरान बजारभित्र पनि सडक विस्तार गर्न समस्या भएको छ । त्यसैगरी विद्युत्को काम समयमा नहुनु, सडक क्षेत्रभित्र घर तथा उद्योगको फोहोर पानी हालिदिने आदि विभिन्न कारणले पनि सडक विस्तार आयोजनाले गति लिन नसकेको छ लेन सडक योजनाका इन्जिनियर दासले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.