राष्ट्रियता बलियो पार्न नागरिकता विधेयकः गृहमन्त्री खाण

रुपन्देही- गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले नेपालको राष्ट्रियता बलियो पार्न नागरिकता विधेयक ल्याइएको दावी गर्नु भएको छ । उहाँले नागरिकता विधेयकको बारेमा गलत विश्लेषण नगर्न सबैलाई आग्रह पनि गर्नुभएको छ ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले भैरहवामा आयोजना गरेको विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्व २०७९ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले सम्पूर्ण नेपाली नागरिकले नागरिकता पाउनुपर्ने बताउनु भयो ।

उहाँले नागरिकलाई नागरिकताबाट वञ्चित गराउनु संविधानको बर्खिलाप हुने बताउदै राष्ट्रपतिबाट नागरिकता बिधेयक प्रमाणिकरण नभएका कारण लाखौं नेपाली नागरिकको भबिष्य अन्यौलमा रहेको बताउनु भयो ।

उहाँले संविधान अनुसार नै नागरिकता विधेयक ल्याइएको दावी गर्नुभयो । उहाँले भननु भयो, ‘लाखौं नेपाली युवायुवती नागरिकताबाट वञ्चित भएका छन्, नागरिकता प्राप्त आमाबुवाका सन्तान अनागरिक भएर बस्न बाध्य छन्, नागरिकता नभएको कारण असहजताको जीवन बाँच्नुपरेको छ ।’

उहाँले नागरिकताको समस्या मधेशको मात्र समस्या नभएको बताउनु भयो । त्यस्तै संसारभर छरिएर रहेका गैरआवासीय नेपाली नागरिकलाई नागरिकता दिन विधेयक ल्याइएको उहाको भनाइ थियो । दुईपटक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित नागरिकता विधेयक संविधान प्रतिकुल नभएको उहाँको जिकिर छ ।

उहाले भन्नु भयो, ‘नागरिकता विधेयकबारे राष्ट्रपतिबाट आएको सुझाव सल्लाहलाई सम्मान गरेका छौं, तर उहाँले उठाउनुभएको विषय सम्बोधनका लागि संविधान संशोधन गर्नुपर्छ, त्यसका लागि राष्ट्रिय सहमतिको आवश्यकता हुन्छ ।’

उहाँले मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेससँगै गठबन्धनलाई जिताउनु आवश्यक रहेको बताउनु भयो । कांग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङको अध्यक्षता तथा सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.