सुरु भयो मनोनयन दर्ता (लाइभ अपडेट)
काठमाडौं– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता सुरु भएको छ ।
बिहान १० बजेदेखि सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन सुरु भएको हो ।
उम्मेदवार आफै वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
समानुपातिक तर्फको निर्वाचन प्रणालीको प्रक्रिया यसअघि नै सुरु भइसके पनि प्रत्यक्ष रुपमा निर्वाचित हुने अर्थात् पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम आज तोकिएको हो ।
राप्रपा अध्यक्ष लिङ्देनद्वारा उम्मेदवारी दर्ता
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले बिहान ११:३० बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।
एकीकृत समाजवादी अध्यक्ष नेपालद्वारा उम्मेदवारी दर्ता
काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले रौतहट क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।
एमाले अध्यक्ष ओलीद्वारा उम्मेदवारी दर्ता
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गर्नुभएको छ । अध्यक्ष ओलीले प्रदेश उम्मेदवारहरु झापा ५ (क) बाट हिक्मत कार्की र ५ (ख)का होमबहादुर थापासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो । उम्मेदवारी दर्ताका लागि अध्यक्ष ओली शनिबार नै दमक जानुभएको थियो । अध्यक्ष ओली २०४८ पछि २०६४ बाहेक सबै निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुँदै आउनुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्