चाडबाडमा किनमेल गर्नेको भीड

कञ्चनपुर- नेपालीको महान् चाड तिहारले कञ्चनपुरका सानाठूला बजारमा चहलपहल बढेको छ ।पछिल्लो केही दिनयता तिहारका लागि सामान किनमेल गर्नेको बजार क्षेत्रमा बाक्लो भीड लाग्ने गरेको छ ।

तिहारमा प्रयोग हुने सामान झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, माला, सप्तरङ्गी टीकालगायतका सामग्री यतिबेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन् ।

अन्य समयको तुलनामा चाडबाडमा किनमेल गर्नेको सङ्ख्या बढी हुनाले व्यापार राम्रो हुने गरेको महेन्द्रनगरका व्यापारी सीताराम धामीले बताउनुभयो । “तिहारले मानिसको बजारमा ओहोरदोहोर बढेको छ, लुगाकपडा तथा तिहारका लागि सामान किनमेल गर्ने हुनाले यो समयमा व्यापार राम्रै हुन्छ”, उहाँले भन्नुभयो ।

भीमदत्त नगरपालिका–९ स्थित पुरानो बजार ब्रह्मदेवका व्यापारी सुनिलदत्त जोशी बजारमा मानिसको चहलपहल बढेकाले व्यापार हुनेमा खुसी हुनुहुन्छ । “व्यापार भारतीय ग्राहकमा निर्भर रहन्छ, चाडबाडले अहिले ग्राहक धेरै आइरहेका छन्”, उहाँले भन्नुभयो, “अन्य दिनको तुलनामा कारोबार बढ्ने अनुमान गरेका छौँ ।”

कोरोना महामारीले धरासायी बनेको व्यापार चाडबाडले चलायमान बनाउने ब्रह्मदेवकै व्यापारी गोपालसिंह धामीको आशा छ । “कोरोनापछि चहलपहल हुन सकेको थिएन, व्यापार शू्न्य भएर व्यवसायी विस्थापित भए”, धामीले भन्नुभयो, “कोरोनाको डरले मानिस बाहिर निस्केनन्, अहिले व्यापार राम्रै भइरहेको छ ।”

कोरोनापछि थलिएको व्यापार विस्तारै चलायमान बन्दै गएको ब्रह्मदेव बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनदेव पन्तले बताउनुभयो । “कोरोनापछि अपेक्षाकृत व्यापार उठ्न सकेको छैन, चाडबाडमा चहलपहल बढेकोले विस्तारै व्यापार चलायमान बन्दै गएको छ”, उहाँले भन्नुभयो, “विगतमा कोरोनाले दसैँ, तिहारमा पनि व्यापार शून्यजस्तै थियो, यसपटक राम्रै व्यापार हुने अपेक्षा लिएका छौँ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.