पोखरा महानगरले थाल्यो भूमिगत पार्किङ खाली गर्ने अभियान

कास्की- पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र प्रयोजन विपरीत सञ्चालन हुँदै आएका भूमिगत पार्किङ खाली गर्ने अभियान सुरु गरेको छ ।

भूमिगत पार्किङमा व्यापारिक सामग्री राखेका घरधनीलाई पटकपटक त्यस्ता सामग्री हटाएर पार्किङका रूपमा प्रयोग गर्न आग्रह गरेको भए पनि अटेर गरेपछि महानगरले डोजर लगाउन सुरु गरेको हो ।

सूचना नै दिएर भूमिगत पार्किङ खाली गर्न आग्रह गरिएको तर उनीहरूले दुई महिना बितिसक्दा पनि उक्त सूचनालाई लत्याएपछि डोजर लगाउन सुरु गरिएको जानकारी महानगर प्रमुख धनराज आचार्यले दिनुभयो ।

भूमिगत पार्किङका लागि भनेर यसअघि महानगरपालिकाबाट कर छुट लिएर निर्माण गरिएका ती भवन वषौँदेखि पार्किङका रूपमा नभई व्यापारिक प्रयोजनको रूपमा प्रयोग हुँदा महानगरले पटकपटक त्यस्ता सामग्री हटाउन आग्रह गर्दै आएको थियो ।

केही घरधनीले यसअघि नै व्यापारिक सामग्री खाली गरेका छन् भने अटेर गर्नेको घरमा डोजर लगाइएको प्रमुख आचार्यले जानकारी दिनुभयो । भूमिगत पार्किङ धेरै मात्रामा चिप्लेढुङ्गा, महेन्द्रपुल, न्यूरोड, सृजनाचोक, पृथ्वीचोक र लेकसाइडमा रहेका छन् ।

अटेर गरेको भन्दै महानगरले पोखराको चिप्लेढुङ्गास्थित आरके बिल्डिङ र महेन्द्रपुलस्थित गरिमा विकास बैंक भएको भवनमा डोजर लगाएको छ । महानगर क्षेत्रमा दुई सय बढी घर भूमिगत पार्किङ भएका भवन रहेको जानकारी प्रमुख आचार्यले दिनुभयो ।

ती पार्किङलाई पार्किङका रूपमा प्रयोग गर्न सके पोखराको सडकमा अव्यवस्थित पार्किङ र ट्राफिक जामलाई केही हदसम्म कम गर्न सकिने भनाइ प्रमुख आचार्यको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.