सेतोपाटीलाई प्रेस काउन्सिलले काट्यो २४ घण्टे पत्र

काठमाडौं- प्रेस काउन्सिल नेपालले असान्दर्भिक विषयवस्तु प्रकाशन गर्नुको कारण पेस गर्न सेतोपाटी डट कमलाई आइतवार २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

झापा १ का उम्मेदवार अग्नि खरेलको छोराको विषयमा लेखिएको उक्त समाचार तत्काल हटाउन र कानुन बमोजिम कारवाही समेत गर्नका लागि शनिबार निर्वाचन आयोगले समेत उक्त अनलाइनलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
तर, आयोगलाई मिडियाको कन्टेट हटाउने र पत्र काट्ने अधिकार नभएको भन्दै उक्त निर्णय विवादमा परेको थियो ।
काउन्सिलले भने चुनावको स्वअनुगमनमै उक्त समाचार परेको र थप कारवाहीका लागि भन्दै पहिले त्यस्तो समाचार प्रकाशन गर्नुको कारण मागेको हो ।

निर्वाचनमा भाग लिएका कुनै राजनीतिक दलका उम्मेदवारलाई निर्वाचनको सम्मुखमा नकरात्मक प्रभाव पार्ने किसिमको सामाग्री के कसरी सम्प्रेषण हुन गएको हो ?, काउन्सिलले पठाएको पत्रमा उल्लेख छ ।

सेतोपाटीले केही दिन अघि खरेलको छोरा अमेरिकी आर्मीमा जागिर रहेको र त्यहीँको नागरिकता रहेको सन्दर्भ राख्दै समाचार प्रकासन गरेको थियो ।

नातेदार वा नजिकका आफन्तको नाम असान्दर्भिक रुपमा जोडेर समाचार लेख्न नहुने भन्ने आचारसंहिताको प्रावधान उल्लेख गर्दै काउन्सिलले स्पष्टीकरण सोधेको हो ।

काउन्सिलले गर्नुपर्ने काम आयोग स्वयंले गरेको भन्दै पत्रकार महासंघ र मिडिया जगतबाट व्यापक विरोध भएपछि आयोग पछि हटिसकेको छ ।

यसअघि काउन्सिलले विभिन्न पत्रपत्रिका, अनलाइनसहितका सञ्चारमाध्यमलाई पत्र लेख्ने काम गरिसकेको छ ।

सुरुमा सेना, पुलिससहितको संरचना बनाएर मिडियाको अनुगमन आफै गर्न थालेपछि काउन्सिल र पत्रकार महासंघले ब्यापक विरोध गरेका थिए । उक्त विरोधपछि आयोग आफैले मिडियाको अनुगमन गर्ने, कारवाही गर्ने काम काउन्सिलको हुने उल्लेख गर्दै एक महिना अघि पत्राचार समेत गरेको थियो । त्यसविपरित आफै मिडियाको कन्टेन्ट हेर्ने प्रयास गरेपछि विवाद बढेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.