दार्चुला : सत्ता गठबन्धन र एमालेका उम्मेदवार बीच मुख्य प्रतिस्पर्धा

दार्चुला- आसन्न प्रतिनिधिसभा निर्वाचनमा दार्चुलामा बहाल मन्त्री र पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडू र नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाबीच मुख्य चुनावी भिडन्त हुने देखिएको हो । मन्त्री बडूलाई सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) लगायतको साथ छ भने एमालेका उम्मेदवार ठगुन्ना एक्लै चुनावी मैदानमा हुनुहुन्छ ।

आसन्न निर्वाचनमा एमालेले कालापानी, लिम्पियाधुरा र लिपुलेक अतिक्रमित भूमिको मुद्दालाई चुनावी मुद्दा बनाएर केन्द्रीय नेतृत्वलाई नै यहीबाट चुनावी अभियान सुरुआत गरेको थियो । २०७० र २०७४ सालको निर्वाचनमा एमालेबाट ठगुन्ना लगातार दुई पटक निर्वाचित हुनुभयो ।

२०७४ को निर्वाचनमा समानुपातिक सांसद बन्नुभएका मन्त्री बडूलाई यस पटक सत्ता गठबन्धनको दरिलो साथ रहेको बताइन्छ । उहाँलाई हारको बदला लिने र प्रदेशसभामा सत्ता गठबन्धनका दुवै उम्मेदवारलाई निर्वाचन जिताउनुपर्ने चुनौती छ भने पूर्वमन्त्री गठुन्ना तेस्रो पटक जितलाई निरन्तरता दिने दाउँमा हुनुहुन्छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ८९ हजार एक सय ५४ मतदाता रहेको जिल्लामा नौ पालिका रहेका छन् । प्रतिनिधिसभामा यहाँ बडू, ठगुन्नासहित नौ जना उम्मेदवार रहेको निर्वाचन कार्यालयले जनाएको छ । २०७४ सालको निर्वाचनमा पराजित विक्रम सिंह धामी दार्चुला प्रदेशसभा निर्वाचन क्षेत्र नं १ बाट सत्ता गठबन्धनका प्रदेशसभा सदस्यका उम्मेदवार हुनुहुन्छ । प्रदेश ‘२’ बाट गठबन्धनले माओवादी नेता एवं सुदूरपििश्चम प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री मानबहादुर धामी उम्मेदवार हुनुहुन्छ । यसैगरी प्रदेशसभा एमालेले ‘१’ मा नेता हरदेव जोशी र ‘२’ मा रामदत्त जोशीलाई उम्मेदवार बनाएको छ । एमाले दार्चुला अध्यक्ष प्रेमसिंह धामीले आफ्नो पार्टी यहाँ निर्वाचन जित्नेमा ढुक्क रहेको बताउनुभयो ।

कांग्रेस दार्चुलाका पार्टी सभापति एवं प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार ललित बोहराले दार्चुलामा गठबन्धन सफल हुने दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.