काठमाडौँ ४ : कांग्रेस महामन्त्री थापा अगाडि

काठमाडौं- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुरुआतीदेखि अग्रता कायम राख्नुभएको छ ।

मतगणनाको बूढानीलकण्ठ नगरपालिकाभित्रका आठ वडा र महानगरका वडा नं १ र ७ को मतगणना सकिँदा उहाँले पाँच हजार पाँच सय ६८ मतको अग्रता लिनुभएको हो । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार हाल ३७ हजार दुई सय ३२ मत गणना हुँदा थापाले १७ हजार पाँच सय १७ मत प्राप्त गर्नुभएको छ, भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार डा राजन भट्टरार्ईले ११ हजार नौ सय ४८ मत प्राप्त गर्नुभएको हो ।

त्यसैगरी राप्रपाका उम्मेदवार डा ठाकुर मोहन श्रेष्ठले दुई हजार दुई सय ६८ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रको मत गणना सुरु भएदेखि नै थापाको अग्रता कायम रहेको छ ।

काठमाडौँ क्षेत्र नम्बर ४ प्रदेशसभा (२) तर्फको बूढानीलकण्ठ वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ पर्दछन् यस क्षेत्रको गणना सकिएको छ । काठमाडौँ–४ प्रदेशसभा (१) अन्तर्गत पर्ने काठमाडौँ महानगरका वडा नम्बर १ र ७ को मत गणना सकिएको छ भने महानगरका वडा नं ८ र ३० को मत गणना जारी छ । काठमाडौँ–४ निर्वाचन क्षेत्रबाट ३१ उम्मेदवार रहनुभएको छ ।

काठमाडौँ १० : कांग्रेसका केसीको अग्रता
आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र १० को मत गणना जारी रहेको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेस उम्मेदवार राजेन्द्रकुमार केसीले तीन हजार नौ सय ८३ मत प्राप्त गरी अग्रता लिई रहनुभएको छ ।

उहाँलाई राष्टिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले दुई हजार आठ सय ८३ मतका साथ पछ्याई रहनुभएको छ । तेस्रो स्थानमा नेकपा (एमाले)का हिमेश केसीले दुई हजार चार सय २७ प्राप्त गर्नुभएको छ । क्षेत्र न १० अन्तर्गत कीर्तिपुर नगरपालिकाको वडा न १, २, ३, ४, ५ र ६ को मतगणना सकिएको छ । कीर्तिपुर वडा नं ७ र ८ को गणना सुरु गरिएको जानकारी निर्वाचन अधिकृत फणेश्वरी घिमिरेले दिनुभयो ।

प्रदेशसभातर्फ क्षेत्र नं (१) को हालसम्मको परिणामअनुसार कांग्रेसका पुकार महर्जन चार हजार ९६ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । दोस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेशराज सापकोटाले दुई हजार नौ सय २४ मत प्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा एमालेका शिवभक्ति बलामीले दुई हजार तीन सय ७८ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं १० मा समानुपातिकतर्फ भने राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ । कीर्तिपुरका १, २, ३ र ४ वडाको मतगणना सकिँदा सो पार्टीले दुई हजार २५ मत प्राप्त गरेको छ दोस्रोमा कांग्रेसले एक हजार नौ सय ९० मत प्राप्त गरेको छ भने नेकपा एमालेले एक हजार एक सय ५३ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.