सबै दलले एकअर्कामा पानी बराबार गर्नु हुँदैन : उपाध्यक्ष नेम्वाङ

काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनबाट प्राप्त अभिमतलाई ध्यान दिँदै सरकार गठनलगायत सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि बढ्ने बताउनुभएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले जनादेशअनुरुप टुङ्गोमा पुग्न विगतका सबै गल्ती कमजोरीलाई बिर्सेर सबै राजनीतिक दलसँग संवाद र छलफल सुरु गरेको जानकारी दिनुभयो ।

“जनताले निषेधको राजनीतिलाई अस्वीकार गर्दै दिएको अभिमतलाई बुझेर दलहरूले एकअर्कासँग छलफल गरेर आगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “एमाले जनताको यही सन्देशलाई आत्मसात गरेर नेपाली कांग्रेसलगायत सबै राजनीतिक दलसँग छलफल गरेर निष्कर्षमा पुग्छ ।” राजनीति भनेको सम्भावनाको खेल भएकाले निर्वाचनपछि सरकार गठनका विषयमा विभिन्न कोणबाट विषय उठिरहेको उल्लेख गर्दै उहाँले सबै दलले एकअर्कामा पानी बराबार गरेर अघि बढ्ने स्थिति अहिले नभएको बताउनुभयो ।

“अब त्यो चरण सकियो । हिजो कहीँकतै त्यस्तो भएको रहेछ भने पनि त्यो गल्ती कमीकमजोरी हो, त्यसलाई सच्याएर अघि बढ्नुपर्छ”, संविधानसभाका अध्यक्ष नेम्वाङले भन्नुभयो । उहाँले एमालेबाट विभाजन भई गठन भएका नेकपा (एकीकृत समाजवादी) सँग पनि सहकार्य हुनसक्ने सङ्केत गर्नुभयो ।

प्रत्यक्षतर्फ कांग्रेस अगाडि भए पनि निर्वाचनको हालसम्मको परिणामले लोकप्रिय मत आफ्नो पार्टीलाई प्राप्त भएको जनाउँदै उहाँले हालको राजनीतिलाई सुझबुझपूर्ण ढङ्गबाट अघि लैजान जिम्मेवारीपूर्वक सबैसँग छलफल र सल्लाह गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.