प्रधानमन्त्रीको शपथ आज ४ बजे

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार आज नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह आयोजना गरिएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह आजका लागि तय गरिएको जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हिजो मात्र प्रधानमन्त्रीमा नियुक्त हुनु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को २ बमोजिम प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रचण्डलाई नेकपा (एमाले)को ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको छ, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन स्वतन्त्र गरी एक सय ६९ सांसदको समर्थन रहेको छ ।

मन्त्रिपरिषद्का केही सदस्यले समेत पद तथा गोपनीयताको शपथ लिनसक्ने बताइएको छ । आजै सानो आकारको मन्त्रिमण्डल पनि गठन गर्ने तयारी भैरहेको नेताहरुले बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.