यस्तो छ मधेस प्रदेशका मुख्यमन्त्री बनेका सरोजकुमार यादवको राजनीतिक यात्रा

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पटकपटक कार्यकारी पदमा रही अनुभव बटुलिसक्नुभएको छ । यसअघि मधेस प्रदेशको सभामुखको भूमिका निर्वाह गरिसक्नुभएका मुख्यमन्त्री यादव सङ्घीय सरकारमा दुईपटक राज्यमन्त्री बनिसक्नुभएको छ ।

विसं २०३० मा जन्मनुभएका यादव सिम्रौनगढ नगरपालिका–३ नयका टोला निवासी हुनुहुन्छ । भारतीय सीमावर्ती क्षेत्र भारत विहारका नेतासँग उहाँको राम्रो सम्बन्ध छ । गाउँ आसपासमा धार्मिक, शिक्षा, सामाजिक र स्वास्थ्य क्षेत्रमा उहाँको परिवारले जग्गा र नगद दान गरेकाले यस क्षेत्रमा उहाँको परिवारको योगदानको चर्चा हुने गर्दछ ।

धनाढ्य परिवार (जमिन्दार) का उहाँका स्व पिता परमानन्दप्रसाद यादव पनि पञ्चायतकालमा गाउँ पञ्चायतका मुखिया हुँदै प्रजातन्त्रपछि सद्भावना पार्टीका नेता हुनुहुन्थ्यो । मुख्यमन्त्री यादव सद्भावना पार्टीका महासचिव हुनुहुन्थ्यो ।

जसपा, लोसपा, सद्भावना लगायतका मधेस केन्द्रित दल एकीकरण भएर राजपा बन्दा उहाँ राजपाका राष्ट्रिय उपाध्यक्षसमेत हुनुभएको थियो । उहाँले प्रवीणता प्रमाणपत्र तह (आइएससी) सम्म अध्ययन गर्नुभएको छ । माध्यमिक शिक्षा गाउँ नजिकै सिम्रौनगढस्थित कङ्काली माविबाट प्राप्त गर्नुभएको हो ।

चौबिस वर्षकै उमेरमा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा पढ्दापढ्दै तत्कालीन हरिहरपुर गाविसको अध्यक्षमा पहिलो पटक निर्वाचित हुँदै उहाँले राजनीतिक यात्रा थाल्नुभएको थियो । विसं २०५९ सम्म उहाँ गाविस अध्यक्ष हुँदा लोकप्रियता कमाउन सफल हुनुभएको थियो ।

विसं २०६४ को पहिलो संविधानसभा सदस्यमा बारा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ सद्भावना पार्टीबाट निर्वाचित हुँदै उहाँले संसदीय यात्रा सुरु गर्नुभएको थियो । तत्कालीन मधेसी जनाधिकार फोरमका उम्मेदवार रामबाबु यादवलाई पराजित गरी यादव विजयी हुनुभएको थियो ।

त्यसबेला नेकपा माओवादीको सरकार थियो । पुष्पकमल दाहाल प्रचण्ड र डा बाबुराम भट्टराई नेतृत्वको सरकारमा सद्भावना पार्टीबाट उहाँ पहिलो पटक सङ्घीय स्वास्थ्य राज्यमन्त्री र दोस्रोपटक उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बन्नुभएको थियो ।

विसं २०७० मा भने फेरि यसै क्षेत्रबाट दोस्रोपटक संविधानसभा सदस्यमा उम्मेदवार बन्दा कांग्रेसका उम्मेदवारसँग पराजित हुनुभएको थियो । विसं २०७४ मा बारा निर्वाचन क्षेत्र १ को (२) बाट प्रदेशसभा सदस्यमा तत्कालीन राजपाबाट विजयी भई मधेस प्रदेशका सभामुख बन्नुभएको थियो ।

मुख्यमन्त्री यादव एमाले र जसपाबीचको चुनावी तालमेलमा बारा निर्वाचन क्षेत्र नं १ को (२) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएर दोस्रो पटक निर्वाचित हुनुभएको हो । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट राजनीति यात्रा सुरु गर्नुभएका यादवले पहिलो पटक तत्कालीन राजपाबाट चुनावी प्रतिस्पर्धा गर्नुभएको थियो भने यसपटक जसपामा प्रवेश गरी उम्मेदवारी दिनुभएको थियो । दोस्रो पटकको चुनावमा उहाँको क्षेत्रमा गत मङ्सिरको चुनावमा वाम लोकतान्त्रिक गठबन्धन थिएन ।

यादवले चार हजारभन्दा बढी मतान्तरले निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार नागेन्द्र साह पराजित गर्दै विजयी हुनुभएको हो । यसरी पाँच वर्षसम्म सभामुखको अनुभव बटुलिसक्नुभएको यादवले २०७९ को चुनावमा सोही क्षेत्रबाट एमालेको तालमेलमा जसपाका तर्फबाट उम्मेदवार भएर विजयी भई मुख्यमन्त्री हुनुभएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.