विमान दुर्घटना : माछापुच्छ्रेको काभ्रे गाउँ शोकमा

कास्की- काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको विमान दुर्घटनाले कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ को काभ्रे गाउँ शोकमा डुबेको छ । पोखरामा आइतबार भएको विमान दुर्घटनामा विमानमा सवार काभ्रे गाउँका बेलमान गुरुङ र उहाँका धर्मपत्नी सीता गुरुङको निधनले गाउँ शोकमा डुबेको हो ।

बेलमान गत साउनमा मौसमी भिसामा बेलायत जानुभएको थियो । उहाँ यही पुस २९ गते घर आउन काठमाडौँ आउनेभएपछि श्रीमती सीता सोही दिन काठमाडौँ पुग्नुभएको थियो ।

उहाँहरू दुवै जना यतीको विमानमार्फत पोखरा आउँदै गरेको र दुर्घटनामा परेको माछापुच्छ्रे–२ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता गणेश आचार्यले बताउनुभयो । उहाँका अनुसार बेलमान दम्पतीले बिहान ११ बजेको यतीको अर्को जहाजको टिकट लिए पनि बोर्डिङ पास लिइसकेको र अघिल्लो जहाजमा सिट खाली रहेकाले सोही जहाज चढ्नुभएको थियो ।

वडाध्यक्ष आचार्यले दुर्घटनाको खबर लगत्तै गाउँ शोकमा डुबेको बताउनुभयो । उहाँले भन्नुभयो, “बेलमान दम्पती गाउँमा सहयोगी हुनुहुन्थ्यो । उहाँहरू सवार विमान दुर्घटना भएको खबर गाउँमा फैलिएसँगै सबै शोकाकुल छन् ।”

बेलमान बेलायत जानुअघि गाउँमै रेष्टुरेण्ट सञ्चालन गर्नुहुन्थ्यो । उहाँ विदेशिएपछि सीताले रेष्टुरेन्ट सञ्चालन गर्दै आउनुभएको छ । बेलमानका बुबा इन्द्रबहादुर गुरुङ नेपाली कांग्रेस वडाका पूर्वसभापति हुनुहुन्छ । गाउँमा उहाँको समाजसेवीको पहिचान छ ।

इन्द्रबहादुरको परिवारमा परेको शोकले सबै दुःखित बनेको वडाध्यक्ष आचार्यले बताउनुभयो । स्व गुरुङका दुई छोरी र एक छोरा छन् । विमान दुर्घटनामा परी माछापुच्छ्रे गाउँपालिका–७ का शिवकुमार गुरुङको पनि निधन भएको बताइएको छ ।

काठमाडौँबाट पोखराका लागि उडेको यतीको एटिआर विमान पोखरा विमानस्थलमा अवतरणको केही मिनेटमात्र बाँकी छँदा विमानस्थल नजिकै सेती नदी खोँचमा दुर्घटनामा परेको थियो ।

विमानमा चालकदलका चार र ६८ यात्रु गरी ७२ जना सवार थिए । दुर्घटनाको उद्धार कार्य राति अबेरसम्म जारी छ । हालसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.