आज मन्त्रिपरिषद् विस्तार हुँदै, आजै अपराह्न चार बजेका लागि सर्वदलीय बैठक आह्वान

काठमाडौं- सत्ता साझेदार पाँच राजनीतिक दलबीच मन्त्रालय बाँडफाँटको विषयमा सहमति भएपछि आज शपथग्रहणको कार्यक्रम तय भएको छ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय बाँडफाँट टुङ्ग्याएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुका करिब पाँच घण्टासम्म बसेको बैठकले एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीबीच मन्त्रालय बाँडफाँटको विषय टुङ्ग्याएको हो ।

राजनीतिक संयन्त्रको बैठकअघि मन्त्रालय बाँडफाँटको विषयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालकोटस्थित ओली निवासमा बिहानैदेखि छलफल भएको थियो । बैठकपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय बाँडफाँट सकिएको र आज दिउँसो १ बजे शपथग्रहण कार्यक्रम तय भएको बताउनुभयो । त्यसबारेमा राष्ट्रपतिलाई समेत जानकारी गराइसकेको गृहमन्त्री लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकार समर्थित नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी तत्काल सरकारमा नआउने भएका छन् । जनता समाजवादी पार्टीले दुई मन्त्रालय मात्रै पाए सरकारमा सहभागी नहुने बताएको छ । अध्यक्ष उपेन्द्र यादवले सम्मानजनक मन्त्रालय बाँडफाँट नभएकाले सरकारमा सहभागी हुन नसकिने बताउनुभयो ।

सत्ता साझेदार दलहरूबीच रक्षा, सङ्घीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण, सञ्‍चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मन्त्री नियुक्त गर्ने सहमति जुटेको छ ।

प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्दै आउनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी, परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति, शिक्षा, विज्ञान तथा प्रविधि, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज नयाँ मन्त्री नियुक्त हुनुहुनेछ ।

यसैबीच प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारपछि आजै अपराह्न चार बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.