आज रातीदेखि पश्चिमी निम्न चापीय प्रणाली सक्रिय हुने अनुमान, वर्षाको सम्भावना

काठमाडौं- आज साँझबाट सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौं लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हिमाली भेगमा भने भोलिदेखि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद्‍ले जनाएका छन् ।

यसैगरी यसपालिको हिउँदमा बितेको ३० वर्ष यताकै सबैभन्दा कम वर्षा भएको जनाएको छ । विभागको तथ्याङ्कअनुसार सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको हो ।

सन् १९९१ देखि २०२० सम्मको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा औसतमा १२ दशलमव ६ मिलिमिटर पानी परेको थियो । तर यसपालिको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा शून्य दशमलव एक मिलिमिटर मात्रै पानी परेको मौसम विज्ञान विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

अघिल्लो हिउँद अर्थात् सन् २०२१ को डिसेम्बर १ देखि २०२२ को जनवरी १८ सम्ममा २७ दशमलव एक मिलिमिटर पानी परेको थियो । नेपालमा मङ्सिर १५ देखि फागुन १५ गतेसम्मको समयलाई हिउँदयाम मान्ने गरिएको र यसवर्ष समुद्रको तापक्रम औसतभन्दा कम भएकाले पश्चिमी वायु कमजोर भई पानी कम परेको जलवायु विज्ञ धर्मराज उप्रेतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिउँदमा पानी कम पर्दा सुख्खा बढेको तथा यसको असर हिउँदे बालीमा प्रत्यक्ष देखिनुका साथै वहुआयामिक असर पर्नेछ । हिउँदमा पानी कम पर्दा पानीका मुहानहरु सुक्ने वा मुहानबाट कम पानी आउने, वायु प्रदूषण बढ्ने, डढेलोको जोखिम बढ्नेलगायतका समस्या आउनसक्ने जलवायु क्षेत्रका जानकारहरूले बताएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.