सशस्त्र प्रहरीले अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन गरेर जनशक्ति तयार गर्नुपर्छ : गृहमन्त्री

काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ऐनको कार्यादेशअनुसार पृथकतावादी एवं आतङ्कवादी गतिविधि नियन्त्रण गर्नु सशस्त्र प्रहरीको जिम्मेवारी रहेकाले सङ्गठनलाई त्यसका लागि तयार पार्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरी बल नेपालको मुख्यालयमा आयोजित २२औँ सशस्त्र प्रहरी दिवसका अवसरमा गृहमन्त्री लामिछानेले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन र अध्ययन गरी सशस्त्र प्रहरीको जनशक्ति तयार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सशस्त्र प्रहरी बलले नेपालको आन्तरिक शान्ति सुरक्षा, सीमा सुरक्षा एवं व्यवस्थापन, विपद् व्यवस्थापन, महत्वपूर्ण प्रतिष्ठान तथा व्यक्तिहरुको सुरक्षा, औद्योगिक एवं राजस्व सङ्कलनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएकोमा उहाँले प्रशंसा पनि गर्नुभयो ।

गृहमन्त्री लामिछानेले यसअघि निरीक्षण भ्रमणका क्रममा भने बमोजिम राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीको आधारभूत आवश्यकताको रुपमा रहेको बसोबास, बन्दोबस्ती, लत्ता कपडा, हातहतियार उपलब्ध गराउनेतर्फ मन्त्रालयले पहलकदमी सुरु गरिसकेको पनि जानकारी गराउनुभयो ।

सशस्त्र प्रहरीले गरेका हरेक क्रियाकलापबाट समाज, देश र जनताले शान्ति सुरक्षासँग विकासको अनुभूत गर्न सक्नुपर्नेमा जोड दिँदै गृहमन्त्री लामिछानेले भन्नुभयो, “सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी बलमार्फत सुरक्षा र विकासका कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको छ, जसबाट सीमा क्षेत्रको भौतिक विकासको साथै सीमा क्षेत्रका जनताको मनमा देश प्रेम र राष्ट्रभक्तिको भावना झनै वृद्धि हुने विश्वास लिएको छु ।”

उहाँले विपद् व्यवस्थापनमा थप जनशक्ति निर्माण गर्न, स्रोतसाधन उपलब्ध गराउन र आवश्यक नीति निर्माणमा मन्त्रालयले विशेष भूमिका खेल्ने बताउनुभयो । उहाँले नेपाल सरकारले विसं २०७२ को भूकम्पको उद्धारमा सशस्त्र प्रहरी बलले गरेको कामको उच्च मूल्याङ्कन गर्दै अब उप्रान्त हुन सक्ने विपद्मा प्रभावकारी भूमिका निर्वाह गर्न थप स्रोतसाधन उपलब्ध गराउने नीति लिएको जानकारी दिनुभयो ।

२२औँ सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा काँधमा जिम्मेवारी, लक्ष्यमा इमान्दारी र मस्तिष्कमा समझदारी राखेर कार्य गर्ने प्रेरणा मिलोस् भनी सशस्त्र प्रहरीलाई शुभकामना दिनुभयो । उहाँले सशस्त्र प्रहरी बलका सम्पूर्ण कर्मचारीले आफ्नो ऊर्जा र क्षमताको अधिकतम प्रयोग गरी सङ्गठनको वयस्क समयलाई जीवन्तता बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले मन्त्रालयले अभिभावकीय भूमिकामा रहेर साधान र स्रोतले भ्याएसम्म थप सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

गृहमन्त्री लामिछानेले आन्तरिक सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल सङ्घीय सरकारको अभिन्न सुरक्षा निकायको रुपमा संविधानले नै व्यवस्था गरे बमोजिम देशका ७७ वटै जिल्लामा तैनाथ रही ऐनले तोकेको कार्यादेश बमोजिम कार्य सम्पादन गर्दै आएको र आगामी दिनमा थप व्यावसायिक भइ कर्तव्य पथमा लाग्ने अपेक्षा रहेको बताउनुभयो ।

जनशक्ति, स्रोतसाधनलगायत सङ्गठनमा पर्याप्त छैनन् तर पनि देशको आवश्यकता र क्षमता बमोजिम सशस्त्र प्रहरी बललाई थप मजबुद बनाउन कानुनी एवं नीतिगत सुधार तथा स्रोत साधन उपलब्ध गराउन गृह मन्त्रालयले कुनै पनि कन्जुस्याईँ नगर्ने उहाँले बताउनुभयो ।

उहाँले सशस्त्र फौजलाई अन्तर्राष्ट्रिय सुरक्षा फौजको क्षमतासँग समानन्तर बनाउन आग्रह गर्नुभयो । सङ्घीय सरकारको बलको रुपमा रहेको सशस्त्र प्रहरी बलले आगामी दिनमा आउन सक्ने सुरक्षा चुनौतीलाई सामना गर्न अन्य सुरक्षा निकाय, तीनै तहका सरकार एवं राज्यका अन्य निकायसँग समन्वय गरी सुरक्षाका आवश्यक कारबाही गर्नसमेत निर्देशन दिनुभयो ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सङ्गठनलाई अब्बल सुरक्षा दस्ताको रुपमा विकास गर्दै लगिएको जानकारी गराउनुभयो । सशस्त्रले यसअघि विभिन्न अग्नि परीक्षामा खरो रुपमा उत्रिएर सङ्गठनको औचित्य पुष्टि गरेको पनि उहाँले जिकिर गर्नुभयो ।

उहाँले देश र देशवासीको हितलाई सर्वाेपरी ठानी नेपाल सरकारले लिएको सुशासन, समृद्धि र तीव्र आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि सशस्त्र प्रहरी निर्दिष्ट योजना कार्यान्वयनमा कटिबद्ध रहेको बताउनुभयो ।

सो क्रममा सशस्त्र प्रहरीले कवाज, व्याण्ड, खेलकुद कला तथा कठिन परिस्थितिमा गरिने उद्दार कला प्रस्तुत गरेको थियो । सशस्त्र प्रहरी दिवसको अवसरमा अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्रराज राईलाई आज ‘सशस्त्र प्रहरी लाइभटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.