मधेश प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार

धनुषा- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मन्त्रिमण्डलमा छ मन्त्री र तीन राज्यमन्त्रीलाई सामेल गरिएको छ ।

नवनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिइसक्नुभएको छ । नवनियुक्त छ मन्त्रीले प्रदेश प्रमुख हरिशङ्कर मिश्रबाट र तीन राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।

सत्ता गठबन्धन दलमध्येका नेकपा (माओवादी केन्द्र) लाई सरकारमा सहभागी नगराई मुख्यमन्त्री यादवले नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्नुभएको हो ।

प्रदेश सरकारको छ मन्त्रालयको भागबन्डा गरेर मुख्यमन्त्री यादवले मन्त्रिमण्डल विस्तार गर्नुभएको हो । मन्त्रालयको भागबन्डामा जसपाबाट सुरिताकुमारी साहलाई सामाजिक विकास र सिङ्गासन सा कलवारलाई खानेपानी तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

एमालेबाट राजकुमार लेखीलाई कानून, न्याय तथा प्रदेशसभा मामिलामन्त्री र शत्रुधनप्रसाद सिंहलाई गृह तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मोहम्मद जयद आलमलाई महिला, बालबालिका युवा तथा खेलकुदमन्त्री बनाइएको छ । जनमत पार्टीबाट संसदीय दलका नेता महेशप्रसाद यादवले शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

राज्यमन्त्रीमा जसपाका शेख अबुल कलाम आजादलाई सामाजिक विकास मन्त्रालय, आज मात्र एमालेमा प्रवेश गर्नुभएका केशव राय चौधरीलाई गृह तथा सञ्चार राज्यमन्त्री र जनमत पार्टीका सञ्जयकुमार यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।

मुख्यमन्त्री यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित उद्योग, पर्यटन तथा वन मन्त्रालय आफैँसँग राख्नुभएको छ । गत पुस २९ गते तीन विनाविभागीय मन्त्रीसहित मन्त्रिपरिषद् गठन गर्नुभएका मुख्यमन्त्री यादवले तीन सातापछि मन्त्रिमण्डललाई पूर्णता दिनुभएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.