चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको छ : मन्त्री भण्डारी

कैलाली- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आजका राष्ट्रिय अभिभारा तथा राष्ट्रिय चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको बताउनुभएको छ ।

कैलाली उद्योग वाणिज्य सङ्घले आज धनगढीमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले विशेषतः औद्योगिक क्षेत्रको विकासमा सरकार अगाडि बढेको र केही रुग्ण उद्योग सञ्चालनका लागि निजी क्षेत्रलाई आह्वान गरिने बताउनुभयो ।

अझै थुप्रै औद्योगिक क्षेत्रका सम्भावना, त्यसका सम्भाव्यताबारे पहिचान गरेर आगामी आर्थिक वर्षमा सुदूरपश्चिमवासीले औद्योगिक क्षेत्रको विकासमा केही नयाँ उपलब्धि पाउने मन्त्री भण्डारीले जानकारी गराउनुभयो । उहाँले छिटोछरितो राज्यबाट हुने सेवा प्रवाहलाई कार्यान्वयन गर्ने कुरा सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुशासनको नीति सरकारले प्रदान गर्नेछ ।”

कुन ठाउँमा कुन वस्तुको सम्भाव्यता छ भनेर सम्पूर्ण अध्ययन पूरा गर्ने गरी मातहतका निकायलाई निर्देशन दिइसकिएको मन्त्री भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आज पनि दार्चुलामा कपर खानी छ, सिसा खानी छ, बैतडीमा फलाम खानी छ, र अन्य जिल्लामा पनि थुप्रै सम्भावना छन्, यी कुरालाई पनि हामी प्राथमिकतामा राख्छौं ।”

उहाँले वर्तमान सरकार कञ्चनपुरस्थित दोधाराचाँदनीको सुक्खा बन्दरगाहलाई चाँडै कार्यान्वयनमा ल्याउने कुरामा वचनबद्धता व्यक्त गर्नुभयो । आगामी फागुन १ गते प्रधानमन्त्रीको उपस्थितिमा सुक्खा बन्दरगाहको अवलोकन गर्ने र त्यसलाई नेपाल–भारत सरकारबीचको समझादारीमा निर्माण कार्यलाई चाँडै प्रारम्भ गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.