माओवादी आन्दोलनका सबै समूहलाई एकतामा आउन अध्यक्ष दाहालको आह्वान

काठमाडौँ- प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनका सबै समूह र धारलाई एक ठाउँमा आउन आह्वान गर्नुभएको छ ।

जनयुद्धकालीन माओवादी नेताहरु डा बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, धर्मेन्द्र बाँस्तोलालगायत नेताहरु उपस्थित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले माओवादी आन्दोलनका सबै समूहलाई पार्टी एकतामा आउन आग्रह गर्नुभएको हो । माओवादीले हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म मनाउँदै आएको सहिद सप्ताहको आज अन्तिम दिन ‘सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशन’द्वारा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले माओवादी आन्दोलन कमजोर नभए पनि विभिन्न धार र भङ्गालामा बाँडिएपछि प्रभाव घटेका कारण पुनः एकताबद्ध हुनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

वर्तमान सरकारले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिएको तथा सहिद घोषणाका लागि राजपत्रमा सूचना प्रकाशित गर्नेलगायत निर्णय गरेपछि केही शक्तिलाई सह्य नभएको प्रधानमन्त्री दाहालको भनाइ थियो । उहाँले यतिबेला चर्को बोल्ने भन्दा पनि काम गर्ने समय भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरकारका तर्फबाट जनयुद्ध, जनआन्दोलन र त्यस आन्दोलनमा सहादत प्राप्त गर्ने सहिद र बेपत्ता योद्धालाई सम्मान गर्ने काम एकपछि अर्को गर्दै अघि बढेको छ । त्यसमा प्रतिक्रियावादी आतङ्कित भएका छन् । तिनीहरु फेरि एक पटक माओवादीसँग तर्सिएका छन् । माओवादीका नाममा तथानाम गालीगलौज गर्न थालेका छन् ।”

प्रधानमन्त्री दाहालले यो बेला चर्को बोल्ने समय नभई काम गर्ने समय भएकाले आफू केन्द्रित भएको बताउनुभयो । “कामबाटै प्रतिक्रियावादी शक्तिविरुद्ध लडिरहेको छु”, उहाँले भन्नुभयो । प्रधानमन्त्री दाहालले केही ‘भूत प्रेत’ निक्लिँदैमा इतिहास र त्यागको कीर्तिमान कायम गरेका महान सहिद नसिद्धिने बरु ज्यूँदो जाग्दो भएर आउने उल्लेख गर्नुभयो ।

माओवादीविरुद्ध निरन्तर षड्यन्त्र भइरहेकाले आफ्ना तर्फबाट भ्रम चिर्न प्रधानमन्त्री दहालले सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “प्रतिक्रियावादी भ्रम छर्ने, घेरा हाल्ने र सखाप पार्ने रणनीतिमा छन्, माओवादीले भ्रम चिर्ने, घेरा तोड्ने र प्रतिरोध गर्ने हो, यो काम माओवादीले विगतदेखि नै गर्दै आएको छ ।”

सबै माओवादी एक ठाउँमा उभिएर जनतालाई अपिल गर्ने, सहिद तथा बेपत्ताको सपना र भावनालाई पूरा गर्ने सङ्कल्प गर्ने हो भने त्यो विजयको दिन हुने प्रधानमन्त्री दहालको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.