आलु स्याहार्ने चटारो …!

पाल्पा-खेतमा उत्पादन भएको आलु खन्ने चटारोले यमकान्ती गौतमलाई भ्याइनभ्याई छ । लामो समयदेखि आलु उत्पादन गर्दै आउनुभएकी उहाँ यतिबेला आलु खन्ने र भण्डारण गर्ने कार्यमा व्यस्त हुनुहुन्छ ।  रामपुर नगरपालिका–७ का अगुवा किसान गौतम यस क्षेत्रमा आलु उत्पादन गर्ने किसानमध्ये उहाँ अग्रपङ्क्तिमा हुनुहुन्छ । बीउ तथा खायन आलु उत्पादन गर्ने गौतम अहिले साढे सात रोपनीमा लगाएको आलु खन्ने र स्याहार्ने कार्य गरिरहेको बताउनुहुन्छ । “आलु सोचेभन्दा धेरै राम्रो उत्पादन भइरहेको छ, बिक्री गरेपछि तत्काल पैसा बुझ्न पाइने हुदा व्यावसायिक उत्पादनमा जोड दिएको छु, खेतभरि लगाएका आलु फलेको देख्दा रमाइलो लागिरहेको छ”, उहाँले भन्नुभयो ।उहाँले करिब साढे छ क्विन्टल सेरिटा, खुमल, उज्जवल जातको आलु लगाउनुभएको हो । बर्सेनि गौतमले करिब एक सय क्विन्टल बीउ तथा खायन आलु उत्पादन गर्नुहुन्छ । आलु खेतीबाटै उहाँको परिवारको जीविका चलेको छ ।
रामपुर–६ की सीता भण्डारीले यस वर्ष १२ क्विण्टल आलु उत्पादन गर्नुभएको छ । खायन आलु उत्पादन गर्ने देवकोटा बर्सेनि उत्पादन राम्रो भएपछि व्यावसायिक उत्पादनमा हौसला बढेको बताउनुहुन्छ । उत्पादित आलु गत वर्षदेखि चिप्स उत्पादक कम्पनीलाई बिक्री गर्दै आउनुभएको छ । अहिले पनि चिप्सकै लागि बिक्री गर्ने तयारीमा रहेको उहाँ बताउनुहुन्छ । “चिप्स बनाउने कम्पनीसँग समन्वय गरेर गत वर्षदेखि नै बिक्री गरिरहेका छौँ, आलु बिकेन भन्ने पिरलो भएन, बिक्री गर्ने बित्तिकै हातमा पैसा परिहाल्ने, शीतभण्डारमा राख्ने खर्च, त्यहाँसम्म लैजाने ल्याउने यातायात ढुवानीमा खर्चनुपरेन”, उहाँले भन्नुभयो ।

पाल्पाको रामपुरमा उत्पादन भएको आलु सो कम्पनीले खरिद गरेर लैजाने सम्झौता भएपछि किसानले उत्साहित हुँदै आलु खेती लगाएका छन् । कार्डिनल, खुमल उज्वल, खुमल रातो, जनकदेव, टिपिएस जातका बीउ खरिद गरेर खेती गरेका छन् ।

“आलुको लागि यो क्षेत्र उपयुक्त रहेकाले नगरपालिकाबाट उत्पादनमा जोड दिएर विभिन्न कार्यक्रम गरिरहेका छौँ, व्यावसायिक उत्पादन गर्ने यहाँका किसानले आलुबाट राम्रो आयस्रोत लिन सफल हुनुभएको छ”, कृषि शाखा प्रमुख पाण्डेय भन्नुभयो ।

रामपुरमा धेरै उत्पादन हुने आलु खेतीलाई व्यवसायीकरण गरी यसैबाट आर्थिकस्तर उकास्न आलु लगाउन किसानलाई उत्प्रेरित गर्दै बीउ अनुदान सहयोगका कार्यक्रम गरिरहेको रामपुर नगरपालिका प्रमुख रमणहादुर थापाले बताउनुहुन्छ । उत्पादित आलुलाई रामपुरमै सुरक्षित भण्डारणका लागि नगरले शीतभण्डार निर्माण गरी प्रयोगमा ल्याएको नगर प्रमुख थापाले बताउनुभयो ।
यस वर्ष हराभरा महिला कृषि सहकारी, दियालो सामाजिक महिला उद्यमी कृषि सहकारी, कँडेलबारी कृषक समूह, तालपोखरा कृषक समूह, आत्मनिर्भर कृषक समूह, जनजागृति कृषक समूह, सातबिसे सेरा कृषक समूह, माझटोल कृषक समूह, नदी किनार कृषक समूह, शुभप्रभात महिला कृषक समूहले रामपुर नगरपालिकाको अनुदान सहयोगमा खायन आलुखेती गरिएको हो । यस वर्ष झण्डै तीन सय क्विन्टल आलुको बीउ किसानलाई अनुदानमा उपलब्ध गराइएको छ ।

स्थानीयस्तरमा नै शित भण्डार बनेपछि किसानलाई भण्डारण गर्न सजिलो र अर्कोतर्फ उत्पादित आलुबाट आम्दानीको स्रोत राम्रो बनेपछि यस व्यवसायबाट आर्थिक समृद्धितर्फ किसान अगाडि बढेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने बताउनुहुन्छ । खायन आलु उत्पादन कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र यस वर्ष करिब चार सय रोपनी क्षेत्रफलमा आलुखेती गरिएको छ । रामपुरमा करिब दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा आलुखेती गरिँदै आएको छ । पछिल्ला वर्षमा रामपुरमा पालिकाले बीउमा अनुदान दिन थालेपछि आलुखेतीमा किसानको ह्वात्तै आकर्षण बढेको छ ।

छोटो समयमा खेती लगाएर धेरै उत्पादन गर्न पाइने आशामा धेरैले हिउँदयाममा व्यावसायिक आलु उत्पादनलाई जोड दिन थालेका छन् । रामपुर क्षेत्रमा आलुको उत्पादन राम्रो हुन थालेपछि आयस्रोतको एउटा दरिलो माध्यम बनेको छ । रामपुरबाट बिक्रीका लागि अहिले तानसेन, पोखरा, बुटवल, नारायणघाट, काठमाडौँसम्म सडक सञ्जाल जोडिएपछि सवारी साधनमा पठाउन सजिलो भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.