वन क्षेत्रमा डढेलो: वन्यजन्तु, चराचुरुङ्गी र नजिकका बस्ती जोखिममा

बारा- बारा जिल्लाका वन क्षेत्रमा डढेलो लाग्न शुरु भएको छ । यस वर्ष हिउँदे वर्षा कम भएकाले सुख्खायामको सुरुवातसँगै डढेलो लाग्न सुरु भएको हो । राष्ट्रिय वन क्षेत्र, सामुदायिक र साझेदारी बन तथा पर्सा राष्ट्रिय निकुञ्ज समेतमा एक हप्तादेखि शुरु भएको डढेलोले वन आसपासका बस्तीमा आगलागि हुने खतरा बढेको छ ।
डिभिजन वन कार्यालय बारा र निकुञ्जको वन क्षेत्रहरुमा डढेलो लागेपछि बन्यजन्तु र चराचुरुङीको अवस्था जोखिममा परेको छ । आधाभार–पथलैया सडक खण्ड, सहजनाथ महादेव मन्दिर क्षेत्र, राजमार्गको पथलैयादेखि निजगढ क्षेत्रमा डढेलो लागेपनि वन कार्यालयको सकृयताले ठुलो क्षति हुन पाएको छैन । निकुन्ज र राष्ट्रिय वन क्षेत्रमा गरी पाँच सय हेक्टर भन्दा बढी वन क्षेत्रमा डढेलो लागेको डिभिजन कार्यालय बाराले जनाएको छ ।
निकुञ्जले फायरलाइनहरुको झाडी सफा गर्ने, फायर लाइनहरु सफा गर्ने र फायर लाइनमा डढेलो सुरु हुनुअघि नै ‘अर्लि बर्निङ्ग’ गरेर डढेलोको सम्भावना र बिस्तारलाई नै समाप्त पार्ने योजना अनुरुप काम गरिएको जनाएको छ ।
डढेलो नियन्त्रणका लागि टोलीनै खडा गरी तत्काल निभाउन जनशक्ती परिचालन भईरहेको र आफ्नै पानीको ट्याङ्कर राखेर नियन्त्रण गर्ने काम भईरहेको डिभिजन वन अधिकृत बिनोद सिंहले बताउनु भएको छ ।
मानवीय गतिविधि बढी भएका क्षेत्रमा सवारी साधन तथा बटुवाहरु र गोठालाहरुले चुरोट खाएर आगोसहितको ठुटो फाल्ने गरेकाले आगलागी हुँदै आएको छ । त्यसो त बन्यजन्तुको शिकार गर्नेहरुले समेत आगो लगाएर शिकार गर्ने गरेको स्थानीयले बताएका छन् ।
विभिन्न क्षेत्रमा डढेलो लागेपनि स्थिति नियन्त्रण बाहिर नभएको अधिकृत सिंहले बताउनु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्