गुल्मीका तीनवटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुँदै

गुल्मी- गुल्मी जिल्लामा रहेका ११ क्याम्पस मध्ये तीनवटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुने भएको छ । जिल्लाका सात क्याम्पसमा सबै पद निर्विरोध भएपछि बाँकी रहेका क्याम्पसमा मात्रै निर्वाचन हुन लागेको हो ।

आउँदो चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि जिल्लामा ११ वटा क्याम्पसहरु मध्ये १० वटा क्याम्पसमा स्ववियु निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । ती मध्ये अब रेसुङ्गा, श्रीङ्गेश्वर र रुद्रवती बहुमुखी क्याम्पसमा मात्रै निर्वाचन हुन लागेको हो ।

जिल्लाका मानका टिकाराम बहुमुखी क्याम्पस मजुवा, चन्द्रकोट बहुमुखी क्याम्पस शान्तिपुर, सत्यवती बहुमुखी क्याम्पस सत्यवती र रिडी बहुमुखी क्याम्पस रिडी, जनज्योति बहुमुखी क्याम्पस पुर्कोट, धुर्कोट परमानन्द बहुमुखी क्याम्पस धुर्कोटमा सबै पदमा निर्विरोध भएको छ ।

जसअनुसार मानका टिकाराम बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुबाट आकाश खरेल, चन्द्रकोट बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा अनेरास्ववियु (क्रान्तीकारी)बाट प्रभा गौतम, सत्यवती बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा अनेरास्ववियुबाट अस्मिता भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै रिडी बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा अनेरास्ववियुबाट गंगा कुँवर, रुरु संस्कृत विद्या पिठको स्ववियु सभापतिमा नेविसंघबाट नारायण पन्थी निर्विरोध निर्वाचित भएका छन् ।

धुर्कोट परमानन्द बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियु (क्रान्तिकारी)बाट इन्द्र पोखरेल, जनज्योति बहुमुखी क्याम्पस पुर्कोटको स्ववियु सभापतिमा अनेरास्ववियु (क्रान्तीकारी)बाट जीवन पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

यी क्यामपसहरुमा अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी) बाट मिलेर एउटै प्यानल बनाएर उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका हुन् ।

स्ववियु निर्वाचनका लागि दिगाम आर्दश बहुमुखी क्याम्पसमा भने निर्वाचन नहुने भएको हो । जिल्लाको श्रीङ्गेश्वर बहुमुखी क्याम्पसमा तीन संगठनले छुट्टा–छुट्टै प्रतिस्पर्धा गरेका छन् । बाँकी २ वटा क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) मिलेर उम्मेदवारी दिएका छन् भने नेविसंघले एक्लै प्रतिस्पर्धा गर्दैछ ।

जिल्ला सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा हुने स्ववियु निर्वाचनलाई निकै चासोका साथ हेरिने गरिन्छ । यहाँ अनेरास्ववियु र नेविसंघबीच कडा प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.