विराटनगर विमानस्थलका पसलहरुमा पाँच गुणासम्म बढी मूल्य

मोरङ- विमान चढ्ने सबै धनी हुदैनन् र सबै धनीले बढी मूल्य नै तिर्नुपर्छ भन्ने पनि छैन । तर मुलुकभरका विमानस्थलका पसल र होटलहरुको मूल्य हेर्ने हो भने सामान्य उपभोक्ताको त के कुरा, अलि हुने खानेलाई पनि किनेर खान हम्मेहम्मे नै पर्दछ ।

विमानस्थल प्रवेश गरेदेखि सिटी रिक्सा चढेर फर्किंदासम्म महंगीको मारमा पर्नुपर्ने बाध्यता रहेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

विराटनगरस्थित विराटनगर विमानस्थलका पसल, खाजा घर र रेष्टुरेण्टहरुले बजारभन्दा पाँच गुणासम्म बढी मूल्य लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय मोरङ नेतृत्वको अनुगमन टोलीले अनुगमन गरेको छ ।

अनुगमनका क्रममा बढी मूल्य लिएको पाइएपछि आवश्यक कागजातसहित हाजिर हुन विराटनगर महानगरपालिका कार्यालयले पत्र काटेको छ । विमानस्थलको घर भाडा महंगो हुनाले बढी मूल्य लिएको होटल संचालकहरुले बताएका छन् ।

विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले भने विमानस्थल सेवा शुल्क नियमावली २०७८ अनुसार होटल र पसलहरु भाडामा दिइएको जानकारी दिएको छ । कार्यालयका निर्देशक रिन्जी शेर्पाले आफुहरुले सामानको मुल्य तोक्न नसक्ने भएपनि सबैले देख्ने गरी दररेट राख्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

विमानस्थल सेवा शुल्क नियमावलीमा विमानस्थल प्रशासनले बेला बेलामा मूल्य अनुगमन गर्नुपर्ने उल्लेख छ । तर विमानस्थल प्रशासनका कर्मचारीहरुले अनुगमन नगरेकै कारण विमानस्थल आउने उपभोक्ताहरुले ठगिनु परिरहेकेा गुनासो गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङ नेतृत्वको अनुगमन टोलीमा वाणिज्य कार्यालय, विराटनगर महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि र उपभोक्ताहरुको सहभागिता रहेको थियो । अनुगमन टोलीले विमानस्थलमा खोलिएका रेष्टुरेण्टहरुको भान्सा घरको पनि अनुगमन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.