निर्माण अवधि सकिँदा पनि रसुवाको मैलुङ–स्याफ्रुबेँसी सडकको प्रगति न्यून

रसुवा- निर्माण सम्पन्न गर्नुपर्ने अवधि सकिँदा मैलुङदेखि स्याफ्रुबेसीसम्मको सडकमा छेउमा पर्खाल लगाउनेबाहेकको अरु काम हुन सकेको छैन ।
लामो समयसम्म निर्माण व्यवसायी सम्पर्कमा नहुँदा सो सडक निर्माण ठप्प रहेको थियो । झण्डै एक वर्षपछि अहिले काम सुरु भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबँसी–रसुवागढी सडक योजनाले जनाएको छ ।

यो सडक खण्डमा २५ प्रतिशत प्रगति मात्रै रहेको योजनाका प्रमुख ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो । सरकारी वन क्षेत्रमा पर्ने भएकाले यो सडकखण्डमा जग्गा मुआब्जाको समस्या कम रहेको छ ।
निर्माण व्यवसायी लामो समय सम्पर्कविहीन रहेकामा अहिले सम्पर्कमा ल्याएर काम गराउन लागिएको प्रमुख श्रेष्ठले बताउनुभयो । सो ठेक्काको अवधि गत माघ २४ मा सकिएको थियो । अवधि थपका लागि निर्माण व्यवसायीले निवेदन दिएका छन् ।

निर्माणको काम अघि बढाए मात्रै थप हुने योजना प्रमुख श्रेष्ठको भनाइ छ । भारतीय कम्पनी भारत कन्स्ट्रक्सन र नेपाली कम्पनी सिद्धि शाही कन्स्ट्रक्सनलाई निर्माणको जिम्मेवारी दिइएको छ । मैलुङदेखि स्याफ्रुबँसीसम्मको सडकको लम्बाई १९ किमी रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्