बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव र्‍याली

भक्तपुर- तान्त्रिक विधिबाट आठ रात, नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व रहेको बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढङ्गले मनाउने सन्देश प्रवाह गर्दै भक्तपुरमा सद्भाव र्‍याली आयोजना गरिएको छ ।

भक्तपुरमा भोलि चैत २७ गतेदेखि सुरु हुने बिस्का जात्रालाई ढुङ्गा हानाहान नगरी शान्तिपूर्ण रुपमा भव्यसँग मनाउने सन्देश प्रवाह गर्दै आज दत्तात्रय इनाय टोल र दूधपाटीबाट एकैसाथ सुरु भएको र्‍याली पाँचतले मन्दिर प्राङ्गण तौमढीमा पुगेर सभामा परिणत भएको थियो ।

‘बिस्केट जात्रा शान्तिपूर्ण रुपमा मनाऔँ’ भन्ने नारा लगाउँदै भएको र्‍यालीमा सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, सहायक प्रजिअ माधवप्रसाद शर्मा, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, विभिन्न विद्यालय एवं क्याम्पसका विद्यार्थी, नेपाल स्काउट, क्लब, सहकारी, विभिन्न सङ्घसंस्थाका सयौँ व्यक्ति सहभागी र्‍याली तौमढी पुगेको थियो ।

सद्भाव सभामा सांसद सुवालले विश्व प्रसिद्ध यो जात्रालाई विकृतिरहित ढङ्गले शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आह्वान गर्दै जात्रालाई भड्किलो नबनाई मितव्ययिता बनाउन आग्रह गर्नुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले बिस्का जात्रा भक्तपुरको गौरव बोकेको जात्रा भएको बताउँदै जात्राबारे सबैलाई जानकारी दिन स्थानीय पाठ्यक्रम निर्माण गरी भक्तपुरका ९२ वटै विद्यालयहरुमा यसको पढाइ भएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुरका प्रजिअ रिजालले बिस्का जात्रा भक्तपुरवासी र नेपालकै पहिचान र गौरव बोकेको जात्राका रुपमा रहेकाले यसलाई शान्तिपूर्ण बनाउन सबैले हातेमालो गर्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले जात्रामा हुने अवाञ्छित र उच्छृङ्खखल गतिविधिमाथि सिसी क्यामेराबाट निगरानी गरी कारबाही गरिने स्पष्ट पार्नुभयो । गुठी संस्थान भक्तपुरका प्रमुख खिमा वलीले जात्राको आवश्यक तयारी सबै पूरा गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.