पाल्पाका तीन दर्जन जंगलहरुमा डढेलो फैलियो

पाल्पा- पाल्पाका तीन दर्जन भन्दा बढी जंगलमा केही दिनयता डढेलो फैलिएको छ । जिल्ला सदरमुकाम तानसेन नगरपालिकासँगै निस्दी, माथागढी, तिनाउ, रैनादेवी छहरा गाउँपालिकाका विभिन्न जंलमा डढेलो फैलिएको हो ।

डढेलो नियन्त्रणमा स्थानीय उपभोक्ताको चासो नदेखिएकापछि आगो नियन्त्रणमा आउन नसकेको हो । निस्दीको ज्यामिरे, मित्याल, माथागढीको गोठादी, रहवास, बहादुरपुर, तिनाउको झुम्सा, दोभान, कचल, तानसेनको पिपलडाँडा, वनदेवी, रैनादेवी छहराको जुठापौवा, सत्यवती लगायतका स्थानमा डढेलो लागेको छ ।

जिल्लाभर ३६ बढी स्थानमा डढेलो फैलिएको स्थानीयले जानकारी दिएका छन् । बढ्दो खडेरीसँगै जिल्लाको सामुदायिक र सरकारी जंगलमा लागेको डढेलोले हजारौं हेक्टर जंगलका काठ, दाउरा, जडीबुटी तथा नयाँ पालुवा जलेर नष्ट भएको कचलका उपभोक्ताले बताएका छन् ।

लामो समयसम्मको खडेरी र बढे गर्मीले उपभोक्ता निभाउन जंगल जान नसकेको हुँदा आगो नियन्त्रणमा चुनौती थपिएको स्थानीयले बताएका छन् । छिमेकी जिल्ला रुपन्देहीतर्फबाट चुरे क्षेत्रमा बढी डढेलो आएको छ ।

जिल्लाको चुरेक्षेत्र ज्यामिरे, बहादुरपुर, दोभान, गोठादी, कोलडाँडा, मस्याम, कचल, रहवास, सत्यवती, बल्ढेङ्गगढीका जंगलमा डढेलो लागेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ। मानविय कमजोरीका कारण डढेलो लागेपछि केही स्थानको आगो निभाइएको तर चुरे क्षेत्रमा लागेको ओलो नियन्त्रणमा लिन समस्या भएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट््टराईले बताउनुभयो ।

जिल्लामा ५२ प्रतिशत जंगल क्षेत्र छ । १० वटै पालिकाहरुले वन डढेलो नियन्त्रण सम्बन्धी गोष्ठी र आम सञ्चारमाध्यमहरुबाट चेतनामूलक सन्देशहरु प्रसारण गर्दै आएका छन् । विद्यालयहरुमार्फत वन डढेलो नियन्त्रण सम्बन्धी जनचेतना अभिवृद्धि गराइएको छ । तर सामान्य कमी कमजोरीका कारण आगो सल्किदा जंगल नजिकका वस्तीहरु जोखिममा परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.