अर्थमन्त्री डाक्टर महतले आज आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण पेस गर्नुहुँदै

काठमाडौं- अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आज संसदमा आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण पेस गर्दै हुनुहुन्छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिँउसो १ बजे बोलाइएको छ ।

सरकारले संसदमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पेस गर्नु अघिल्लो दिन आज आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको हो ।

प्रत्येक वर्षको जेठ १५ गते सरकारले वजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था अनुसार अर्थमन्त्री डाक्टर महतले भोलि संघीय संसदको संयुक्त बैठकमा बजेट पेस गर्दै हुनुहुन्छ ।

यसैगरी नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल र पारित गर्ने कार्यसूची पनि सार्वजनिक गरिएको छ । यसका लागि आज ११ बजे संघीय संसदको संयुक्त बैठक बोलाइएको छ ।

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुव बहादुर प्रधानले “संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० लाई पारित गरियोस्” भनी बैठकमा प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.