भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ । गोरखा सांस्कृतिक समाजको आठौँ वार्षिक साधारणसभा एवं चौथो अधिवेशनको उद्घाटन गर्दै सरकारले भ्रष्टाचार विरोधी अभियान र सुशासनलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।
“स्वार्थ, भ्रष्टाचार र व्यक्तिवादी प्रवृत्तिको विरुद्ध अभियानलाई बुलन्द पार्नका लागि लेखक, कलाकार, साहित्यकार र पत्रकारको महत्वपूर्ण भूमिका रहन्छ”, उहाँले भन्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले लामो सङ्घर्षपछि प्राप्त उपलब्धिलाई बचाउँदै नेपाललाई विकास र समृद्धिको बाटोमा लैजानका लागि सरकार दृढ रहेको बताउनुभयो । समृद्ध मुलुक निर्माण गर्न सरकार अगाडि बढेको उहाँको भनाइ छ । उहाँले गोरखालाई नमूना जिल्ला बनाउनका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । मौलिक पहिचान र संस्कृतिको रक्षामा लाग्ने कलाकारहरु अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
उपप्रधानमन्त्री श्रेष्ठले गोरखाको कला, संस्कृतिको, भाषा, भेषभूषाको रक्षा गर्दै गोरखालाई सांस्कृतिक नगर निर्माण गर्नका लागि सरकारले ‘गोरखा सम्पदा वस्ती’ निर्माण गर्न लागेको उल्लेख गर्नुभयो । गोरखाको सांस्कृतिक पहिचानको रक्षा गर्नुपर्ने उहाँको भनाइ थियो ।
उहाँले नेपाल निर्माणमा ऐतिहासिक भूमिकादेखि लोकतान्त्रिक आन्दोलनमा गोरखाको महत्वपूर्ण भूमिका रहेकाले गोरखा विश्व जगतमा स्थापित हुन सकेको बताउनुभयो । संस्कृति बचाउने जिम्मा लेखक, कलाकार र पत्रकारको भएको मन्त्री श्रेष्ठको भनाइ थियो ।
गोरखा सांस्कृतिक समाजका अध्यक्ष सुमन पण्डितले गोरखाबाट काठमाडौँ आएर छरिएर रहेका साहित्यकार, गीतकार, सङ्गीतकार, गायक, गायिका, चित्रकार, मूर्तिकार नाट्यकर्मी, पत्रकार तथा कला संस्कृतिको क्षेत्रमा क्रियाशिल सम्पूर्णलाई गोलबन्ध गरी आठ वर्ष पहिले गोरखा सांस्कृतिक समाज स्थापना गरिएको जानकारी दिनुभयो ।
सो समाजले साधारणसभा तथा अधिवेशनका क्रममा मेल्मादेवी सङ्गीत सम्मान वरिष्ठ गायक रामचन्द्र अर्याल, शान्ति मास्के कला सम्मान वरिष्ठ कलाकार रश्मी भट्ट, युवा प्रतिभा सम्मान मरिचमान श्रेष्ठ (बल्छी धु्रर्वे) र पत्रकार सम्मान वरिष्ठ पत्रकार राजेन्द्र बानियाँलाई प्रदान गरेको थियो । उहाँहरुलाई दोसल्ला, नगद रु पाँच हजार पाँच सय ५५ र ताम्रपत्रद्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.