पर्यटकीय क्षेत्रको प्रचार गर्न ‘जाउँ हिंड रेसुङ्गा’ अभियान सुरु

गुल्मी- गुल्मी जिल्लाको पर्यटकीय क्षेत्र रेसुङ्गाको प्रचार प्रसार गर्नका लागि रेसुङ्गा नगरपालिकाले ‘जाउँ हिंड रेसुङ्गा’ अभियानको सुरुवात गरेको छ । रेसुङ्गा धार्मिक तथा पर्यटकीय हिसाबले धेरै महत्वपूर्ण क्षेत्र मानिन्छ ।

तर अहिलेसम्म रेसुङ्गामा सोचेअनुसार पर्यटकहरु पुग्न सकेका छैनन् । रेसुङ्गा क्षेत्रसम्म अभियानमार्फत धेरै पर्यटक लैजाने उदेश्यले ‘जाउँ हिंड रेसुङ्गा’ सुरुवात गरिएको हो ।

अभियानको एक कार्यक्रमका बीच नगरप्रमुख खिलध्वज पन्थीले सुरुवात गर्नुभएको थियो । अभियान सुरुसँगै पहिलो दिन ‘जाउँ हिड रेसुङ्गा’ लेखेको टिसट लगाएर करिव १ सय ५० जनाको टोली रेसुङ्गा पगेका थिए ।

कार्यक्रमको सुरुवात गर्दै पन्थीले रेसुङ्गा क्षेत्रको प्रचारप्रसार गरी पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नका लागि नगरले अभियान संचालन गरेको बताउनुभयो ।

चालु आर्थिक वर्षमा करिब एक लाख आन्तरिक र बाह्य पर्यटकहरुलाई रेसुङ्गा ल्याउने योजना बनाएको पन्थीले बताउनुभयो । पर्यटनको माध्यमबाट रेसुङ्गाको प्रचारप्रसार र युवाहरुलाई रोजगारी सृजना गर्ने लक्ष्य नगरको रहेको पन्थीको भनाई छ ।

रेसुङ्गाको सम्बन्ध त्रेता युगदेखि भारतको अयोध्यासँग रहेको छ । तर यो सम्बन्ध प्रगाढ हुन सकिरहेको छैन् । यो अभियानले भारतको अयोध्यासँगको सम्बन्धलाई थप पगाढ बनाएर धार्मिक पर्यटक ल्याउने लक्ष्य रहेको छ ।

अयोध्याका राजा दशरथलाई सन्तान नभएपछि रेसुङ्गा धाममा तपश्वी श्रृङ्ग ऋषिलाई अयोध्या बोलाएर पुत्रेष्टि महायज्ञ गरेरमा सन्तान हुन्छन् भन्ने राजा दशरथका गुरु ऋषिहरुको सल्लाह अनुसार ऋष्यश्रृङ्गबाट पुत्रेष्टि महायज्ञ गराइएको कथा वेद पुराणहरुमा उल्लेख छ ।

यज्ञका प्रभावले दशरथका छोरा राम, लक्ष्मण, भरत र शत्रुधन जन्मेको त्रेता युगको कथा पुराणहरुमा उल्लेख छ । यहि सम्बन्ध प्रगाढ गर्न गत बैशाखमा रेसुङ्गामा नौं दिनसम्म भारतको राजस्थानबाट गुरुहरु ल्याएर महायज्ञ तथा सन्तसम्मेल गरिएको थियो ।

यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् । यहाँ विद्यार्थीहरुको लागि शैक्षिक भ्रमण,होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ ।

अहिले रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्तिवक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्बर्द्धन र प्रचार–प्रसारको काम भइरहेको छ । रेसुङ्गामा द्वापर युग, त्रेतायुगदेखि नै यसको महत्व रहेको बिभिन्न धर्मग्रन्थहरुमा उल्लेख पनि रहिआएको छ ।

तम्घास बजारबाट रेसुङ्गा पोखरीसम्म गाडीको यात्रामा पुग्न सकिन्छ । पोखरीबाट १५ मिनेट पैदल यात्रा पछि रेसुङ्गा शिरमा पुग्न सकिन्छ । अहिले रेसुङ्गा पोखरी क्षेत्रसम्म पुग्ने ८० प्रतिशत सडक कालोपत्रे भएको छ । पोखरीबाट पैदल मार्गमा आकर्षक सिँढी निर्माण गरिएको छ ।

सिद्धभूमि, तपोभूमि महर्षी भूमि जहाँ धेरै ऋषि महर्षिहरुले तपस्या प्राप्त गरेको इतिहास हाम्रो माझ रहि आएको छ । ऋषि श्रृंङ्गेश्वर, यदुकानन्द, रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ ।

समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक,ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ । रेसुङ्गाको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत दृश्याबलोकन गर्न सकिन्छ ।

रेसुङ्गा शिखर उच्च क्षेत्र हुनाले यहाँको हावापानी शीतल छ । हिउँदमा उच्च भागतिर यदाकदा हिउँ पर्छ । गर्मीयाममा यहाँको वातावरण मनोरम र अनुकुल हुन्छ । यो क्षेत्र शान्त, एकान्त, शीतल र मनोरम छ । जिल्लाको प्रमुख नगर तम्घास रेसुङ्गाकै काखमा बसेको छ ।

रेसुङ्गा क्षेत्रमा प्राकृतिक, धार्मिक, ऐतिहासिक, पौराणिक विशेषताहरूले विशिष्ट छ । रेसुङ्गा क्षेत्र भन्नले यहाँको सबै वनक्षेत्र, आश्रम, धर्मक्षेत्र, मठमन्दिर, पँधेरा, कुण्ड, पोखरी, पाटीपौवा, यज्ञशाला एवम् भग्नावशेषहरू बुझिन्छन् ।

यस क्षेत्रमा २५८ प्रजातिका चराहरूको साथै बिश्वमै लोपउन्मुख गिद्दसँगै चितुवा, मृग, घोरल, खरायो आदि जनावरहरू पाइन्छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.