नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित नौ जना विरुद्ध भ्रष्टाचारको आरोप

काठमाडौं- मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन नगर प्रमुख हरिजङ्ग शाहीसहित नौ जनामाथि भ्रष्टाचार गरेको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नगरप्रमुख शाहीसहित तत्कालीन उपप्रमुख सुन्तला रोकाया, प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, इन्जिनियर महेश सिंह कठायत, असिष्टेण्ट सब–इन्जिनियर हस्त बहादुर मल्ल र वडा नं.७ सदस्य पशुपती शाहीविरुद्ध सो आरोप लागेको जनाएको छ ।

आर्थिक वर्ष २०७४-७५ मा सो नगरपालिकाको वडा नं ७ मा निर्माण सम्पन्न भनिएको बिसौनीदेखि किउरीसम्मको बाटो निर्माण गर्ने क्रममा वास्तविकभन्दा नभएको कार्य समेत गैरकानूनी लाभ लिने बदनियतले गलत प्रतिवेदन स्वीकृत गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसरी गलत नापी, किताब, उपभोक्ताको बिल र कार्य सम्पन्नको प्रतिवेदन बमोजिम भुक्तान भएको २२ लाख ३६ हजार ४८२ रुपियाँ बिगो रकमसहित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद तथा सजायको मागदाबी गरिएको छ । बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष रामप्यारी शाही, कोषाध्यक्ष नानी कामी र सचिव सादना मल्लले वास्तविक रुपमा भए गरेको कार्यभन्दा बढी कार्यसमेत नापी किताबमा चढाउन लगाएको आरोप छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.