एकीकृत समाजवादी कुनै पार्टीमा गएर विलय हुँदैन, बरु पुरानो नेकपा ब्युँझाउँछ: माधव नेपाल

भक्तपुर- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी अर्को कुनै पार्टीमा गएर विलय नहुने बताउनुभएको छ । भक्तपुरमा एकीकृत समाजवादीको प्रथम जिल्ला अधिवेशनमा बोल्दै उहाँले एकीकृत समाजवादी अर्को पार्टीमा विलय हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, “कसै–कसैलाई लागेको छ, हाम्रो पार्टी अरु कुनै पार्टीमा गएर विलय हुनेछ, एमालेमा त आफैँ रुवाबासी चलिरहेको छ । तर हामी कतै विलय हुँदैनौँ, बरु हामी पुरानो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन तयार छौँ ।”

उहाँले कम्युनिष्ट सबै मिलेर अघि बढ्नुपर्ने आवश्यकता आएको चर्चा गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली तयार भए नेकपा ब्युँताउन आफू तयार रहेको बताउनुभयो । एमालेका अध्यक्ष ओलीले आफू अध्यक्ष पदबाट हट्नुपर्ला भनेर ७० वर्षको उमेरहद हटाएको बताउँदै अध्यक्ष नेपालले आफू सल्लाहकारमा बसेर युवालाई जिम्मेवारी नदिए एमाले पनि सकिने बताउनुभयो ।

उहाँले चारवटा पार्टी मिलेर मोर्चा बनाउने तयारी गरिरहेको बताउनुभयो । अध्यक्ष नेपालले भन्नुभयो, “बालुवाटारमा हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा विप्लव समूहका नेता विप्लव, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ, हाम्रो पार्टीबाट म आफैँ र प्रवेश हमाल बसेर समाजवादका पक्षमा चारवटा पार्टी एक ठाउँमा बसेर मोर्चा बनाऔं, सडक, संसद्मा आवाज बुलन्द गरौँ र सरकारमा बसेर राम्रो काम गरौँ भन्नेबारेमा छलफल भयो । यसबारेमा केही समयमै हामी सहमतिमा पुग्ने गरी छलफल गर्छौं ।”

नेपालको राजनीति प्रतिगामी दिशामा लैजाने प्रयास भइरहेको भन्दै उहाँले राजावादीले टाउको उठाउने कोसिस गरे पनि त्यसलाई सफल हुन नदिने बताउनुभयो ।

कार्यक्रममा कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले सरकारले यस वर्ष मल खरिदका लागि बजेटमार्फत रु ३० अर्बको बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मल खरिदका लागि गत वर्षको जस्तो रु १५ अर्बले पुग्दैन भनेर यस वर्ष बजेटमै रु ३० अर्बको सुनिश्चितता गरेका छौँ, यस वर्ष मल अभाव हुन दिँदैनौँ ।”

उहाँले सरकारमा जम्मा दुईवटा मन्त्री लिएर बसेकाले आफ्नो पार्टी निर्णायक नभए पनि समाजवादीको भागमा परेका दुई मन्त्रालयको जिम्मेवारी भने पूरा गर्ने बताउनुभयो । उहाँले कृषि क्षेत्रको विकासका लागि पहल गरेको, बाँझो जमिन उपयोग गर्ने नीति लिएर बजेट छुट्याएको, कृषिमा यान्त्रिकीकरण, बजारीकरणको समस्याका लागि पहल सुरु गरेको, सिँचाइको योजना ल्याएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.