लक्षित राजस्व उठाउन जिम्मेवार भएर काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ- राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न अर्थमन्त्री डा प्रकाशशरण महतले कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
आन्तरिक राजस्व विभागअन्तर्गत देशभरका कर कार्यालयका कर्मचारीलाई आज निर्देशन दिनुहुँदै अर्थमन्त्री महतले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न कर्तव्यनिष्ठ भएर काम गर्न भन्नुभएको हो ।
कर्मचारी कर्तव्यबाट पन्छिन नहुने बताउनुहुँदै अर्थमन्त्री महतले सेवाग्राहीमाझ सहजरुपमा प्रस्तुत हुन पनि निर्देशन दिनुभयो । “व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम नहोस् । राम्रो काम गर्ने कर्मचारीलाई धन्यवाद भन्न चाहन्छु”, कर्मचारीलाई निर्देशन दिनुहुँदै अर्थमन्त्री डा महतले भन्नुभयो ।
अहिले लक्ष्यअनुसार राजस्व उठ्न नसकेको बताउनुहुँदै उहाँले अर्थतन्त्रलाई गति दिनका लागि पनि राजस्व बढाउन आवश्यक रहेको बताउनुभयो । “अर्थ मन्त्रालयको सबैभन्दा ठूलो काम भनेको स्रोत जुटाउने हो । राज्यको सम्पूर्ण आवश्यकतालाई सम्बोधन गर्ने स्रोत जुटाउने जिम्मेवारीमा हामी छौँ । अहिले सङ्कलन भइरहेको राजस्वले  पुगिरहेको छैन । यसलाई बढाउनुपर्ने आवश्यकता छ”, अर्थमन्त्री डा महतले भन्नुभयो, “तलब भत्ता, सामाजिक सुरक्षा र पुँजीगत खर्चको आवश्यकता राजस्वले योगदान दिन सकोस् भन्ने हामी चाहन्छौँ । यद्यपि हामीले त्यो पूरा गर्न सकिरहेका छैनौँ ।”
भन्सारमा आधारित राजस्व नीतिले अर्थतन्त्रलाई सुधार गर्न नसक्ने र सार्वजनिक ऋणको सही सदुपयोग गर्ने विषयमा सरकार स्पष्ट रहेकाले सोही नीतिअनुसार काम गर्न पनि उहाँले निर्देशन दिनुभएको छ ।
“सधैँ भन्सारमा आधारित राजस्वमा निर्भर हुन सकिँदैन । आन्तरिक ऋण र विदेशबाट प्राप्त हुने ऋण उत्पादनमुखी क्षेत्रमा लगानी हुनुपर्छ”, उहाँले भन्नुभयो, “त्यसकारण आन्तरिक राजस्वलाई कसरी विस्तार गर्ने भन्ने विषयमा चासो र चिन्ता छ । यसमा आन्तरिक राजस्व विभागको भूमिका महत्वपूर्ण हुन्छ ।”
आन्तरिक राजस्वको दायरा वृद्धि अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने र करको दायरामा आउन नसकेका अनौपचारिक क्षेत्रलाई करको दायरामा ल्याउनुपर्ने उहाँको भनाइ छ । मूल्य अभिवृद्धि कर (भ्याट) मा दिइएको छुट खारेजपछि राजस्व सङ्कलन बढेको पनि अर्थमन्त्री महतको दाबी छ ।
“हामीले धेरै नयाँ कर प्रस्ताव गरेका छौँ । नेपालमा भ्याट लाग्न थालेपछि हाम्रो करको दायरा बढ्यो । पछिल्लो समय भ्याटको दायरा खुम्चाउँदै लगियो । यसले पनि समस्या ल्याउँदै गएको थियो”, अर्थमन्त्री महतले भन्नुभयो, “कतिपय वर्ग आयकरको दायरमा आउन चाहँदैन ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.