नेपालमा लगानी गर्न चासो राख्दै इजिप्टका व्यवसायी

इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले विशिष्ट भौगोलिक अवस्थिति, प्रचुर प्राकृतिक संशाधन एवं सीपयुक्त युवा जनशक्तिलगायत कारणले नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य रहेको बताउनुभएको छ ।

नेपाली राजदूतावास र इजिप्टको ‘अरब वुमन्स इन्भेस्टर्स युनियन’ले बुधवार इजिप्टको राजधानी कायरोमा इजिप्ट उद्योगी व्यवसायीका लागि नेपालको व्यावसायिक एवं लगानी वातावरणबारे आयोजित प्रवद्र्धनात्मक कार्यक्रममा राजदूत लम्सालले इजिप्ट र नेपालबीच पर्यटन, कृषि उत्पादन, रासायनिक मल, ऊर्जालगायत क्षेत्रमा आपसी सहयोगको प्रशस्त सम्भावना रहेको जानकारी दिनुभयो ।

नेपालको आर्थिक सम्भावना एवं वैदेशिक लगानीका अवसर र वातावरणका बारेमा चर्चा गर्दै राजदूत लम्सालले आवश्यक सहयोग, सहजीकरण र समन्वयका लागि दूतावास तत्पर रहेको बताउनुभयो । उहाँले नेपालमा विद्यमान लगानीका अवसरबाट लाभ लिन उपस्थित उद्योग व्यवसायीलाई आग्रह गर्नुभएको त्यहाँस्थित दूतावासले जनाएको छ ।

अरब वुमन्स इन्भेस्टर्स युनियनकी अध्यक्ष डा होडा यास्साले नेपाल इजिप्टका लगानीकर्ताका लागि नयाँ तर प्रशस्त सम्भावनायुक्त गन्तव्य भएकाले आगामी दिनमा द्विपक्षीय व्यापार र लगानी थप वृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । इजिप्टको वर्तमान व्यावसायिक वातावरण तथा वैदेशिक लगानीको नीतिबारे प्रकाश पार्दै उहाँले पौने तीन अर्ब जनसङ्ख्याको बजारको निकट र विशालतम अर्थतन्त्रको साँधमा अवस्थित नेपाल लगानीका लागि उपयुक्त गन्तव्य हुने जानकारी गराउनुभयो ।

ट्राभल इजिप्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत हमिद सादिकले नेपाल इजिप्टका लागि भविष्यमा महत्वपूर्ण गन्तव्यकारुपमा विकास हुने सम्भावना रहेको धारणा व्यक्त गर्दै कायरो र काठमाडौँबीच सीधा हवाई उडानको आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा दूतावासका तर्फबाट नेपालको समग्र आर्थिक तथा लगानी नीतिबारे जानकारीसहित वैदेशिक लगानीका परियोजना तर्जुमा तथा सहजीकरण एवं लगानी स्वीकृतिलगायत विविध पक्षबारे प्रस्तुति गरिएको थियो । सो अवसरमा उद्योगी, व्यवसायी र सहभागी प्रतिनिधिले नेपालमा लगानीको सम्भावना भएका विभिन्न क्षेत्रबारे व्यक्तिगत र सामूहिकरुपमा उत्साहका साथ जिज्ञासा राख्नुभएको थियो ।

निजी तथा सार्वजनिक–निजी साझेदारीअन्तर्गत लगानीको विधि र प्रक्रिया, हालसम्म नेपालमा भएका ठूला लगानी परियोजना एवं लगानीयोग्य परियोजनाको सूचीबारे जानकारी गराइएको उक्त कार्यक्रममा उद्योगी व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधिसहित करिब ७० जना सहभागी रहेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.