एमालेको विरोधपछि राष्ट्रियसभाको बैठक स्थगन

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकमा नेकपा(एमाले) का सांसदहरुले अवरोध गरेपछि बैठक स्थगित भएको छ । बैठक सुरु हुनासाथ राष्ट्रियसभाका ध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलका सांसद भैरवसुन्दर श्रेष्ठलाई बोल्नका लागि अनुमति दिनुभयो ।

सांसद श्रेष्ठले केही दिन पहिलेको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनुभएको अभिव्यक्ति राष्ट्रियहितविपरीत रहेको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्रीको भनाइ गलत भएको तर्क गर्दै त्यसविरुद्ध विरोध गर्ने आफ्नो संसदीय दलको निर्णय भएको बताउनुभयो ।

सभाध्यक्ष तिमिल्सिनाले पटक–पटक एमालेका सांसदलाई आसन ग्रहण गर्न आग्रह गर्नुभयो । तर, उहाँहरुले उभिए विरोध जनाइरहनुभएको थियो । सभाध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बोलाएर उहाँको धारणा सुन्ने वातावरण बनाउने र बजेटको संवेदनशीलतालाई ध्यानमा राखेर बैठक सञ्चालनका लागि आग्रह गर्नुभएको थियो ।

राष्ट्रियसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये अर्थ, श्रम रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमाथि छलफल हुने कार्यसूची तय गरिएको छ ।

राष्ट्रियसभाको अर्को बैठक यही असार २२ गते शुक्रबार १२.२९ बजे बस्नेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.