काँग्रेसमा ७ लाख सदस्य थप गर्ने महामन्त्रीको प्रस्ताव
पहिलो पटक केन्द्रीय समितिको बैठक फेसबुकबाट लाइभ
काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको बैठक कांग्रेसले पार्टीको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरेको छ ।
बैठकमा काँग्रेस महामन्त्री गगनकुमार थापाले बार्षिक कार्ययोजना प्रस्तुत गर्नुहुँदै पार्टीको सदस्यता ५ लाख देखि ७ लाख थप गर्ने प्रस्ताव गर्नुभएको छ । काँग्रेसले पहिलो पटक पार्टीका केन्द्रीय सदस्यहरुलाई पार्टीको कामबाट छुट्टी दिएर जनतालाई सेवा र सहयोग गर्न खटाउने प्रस्ताव पनि गरेको छ । यसैगरी महामन्त्री थापाले २२ वटा विभागहरु थप गर्न पनि बैठकमा प्रस्ताव गर्नुभएको छ । उहाँले पार्टीको केन्द्रदेखि गाउँ इकाइसम्म बार्षिक क्यालेनण्डर बनाएर लागु गर्ने योजना पनि सार्वजनिक गर्नुभयो ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकको प्रारम्भ गर्दै महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी गराउनुभएको थियो । बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएका छन ।
यसैगरी विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको कार्यसूची महामन्त्री शर्माले केन्द्रीय समितिको बैठकमा जानकारी गराउनुभएको थियो । बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम भोलिदेखि शुरु हुनेछ ।।





प्रतिक्रिया राख्नुहोस्