ओडारमा बस्दै आएका राहुलको उद्धार

म्याग्दी- बेनी नगरपालिका–७ मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका राहुल विकलाई  आज उद्धार गरिएको छ ।  बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा बस्दै आएका बेनी नगरपालिका–५ भिरमुनिका ५० वर्षीय विकलाई उद्धार गरिएको हो । बेनी नगरपालिकाको उपप्रमुख ज्योति लामिछानेले विकलाई ओडारबाट उद्धार गरेर मानव सेवा आश्रमको बागलुङ शाखामा लगिएको जानकारी दिनुभयो ।
“एक वर्षदेखि ओडारमा बस्दै आउनुभएका राहुलको अवस्था नारकीय थियो । धेरै पटकको प्रयासपछि आज आश्रममा जान मान्नुभयो”, उहाँले भन्नुभयो, “घरका सदस्य नभएका र सामाजिक बहिष्करणमा पर्नुभएका उहाँलाई पुनस्र्थापना नहुँदासम्म मानव सेवा आश्रममा राखेर उपचार गर्ने व्यवस्था मिलाएका छौँ ।”
शारीरिक कमजोरीका कारण श्रम गर्न नसक्ने र मागेर ल्याएको खानेकुरा पकाएर खाने गरेका राहुललाई नगर उपप्रमुख लामिछाने र नगरप्रहरीको टोलीले उद्धार गर्नुभएको थियो । छोराहरुको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओडारमा बस्न बाध्य भएका राहुलका बारेमा २०७९ साल फागुन ८ गते राससमार्फत समाचार सार्वजनिक भएको थियो ।
“शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरे,” राहुलले भन्नुभयो, “उमेर घर्किएपछि गाउँ फर्कंदासाथ दिने कोही भएनन् । हेला गर्न थालेपछि घर छाडेर ओडारमा बस्नु परेको हो ।” उहाँले कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गर्नुभएको थियो ।
सो ओडर बेनीबजारदेखि करिब एक किलोमिटर नजिकको दूरीमा छ । सडकको कान्लामाथिको सानो ओडारमा फाटेका कपडा ओछ्याएर सुत्ने गरेका राहुलको शरीर चिसोले सुन्निएको छ । काम गर्न नसक्ने भएकाले कसैले दिएको तथा मागेर भेटेको आफैँले पकाएर खाने गरेका कुरिलाखर्कका सुरेश ढुङ्गानाले बताउनुभयो । “मेरो भैँसी फार्मसँगै जोडिएको ओडारमा बस्न थाल्नुभएको डेढ वर्ष जति भयो,” उहाँले भन्नुभयो, “काम गर्न सक्दिन । मलाई यही ठीक छ भन्दै अन्यत्र जान मान्नुभएको थिएन ।”
राहुल बस्दै आएको ओडारमा दिउँसोमा घाम लागे पनि रातमा चिसो हावा र पानीको बाछिटा सिधै छिर्छ । मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्ने राहुललाई रातमा चितुवाको डर रहेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.