पारस बुढाको उपचारार्थ रु. ६३ हजार सहयोग हस्तान्तरण

डोल्पा- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ अन्तर्गत करेलीकाँडा गाउँमा बस्ने १४ बर्षिया पारस बुढाको उपचारका लागि प्राप्त ६३ हजार रुपैँया हस्तान्तरण गरिएको छ ।

डोल्पाका लागि संघिय सांसद तथा पूर्वमन्त्री धनबहादुर बुढा, अमेरीका बस्दै आएका स्थानीय युवा विपिनसिँह कठायत र वैदेशिक रोजगारीमा रहेका सुमन गुरुङ्गबाट प्राप्त सो रकम वडा सदस्य झलक बुढाको रोहबरमा नेपाल टेलिभिजनका डोल्पा संवाददाता रामचन्द्र न्यौपानेले परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।

उमेर १४ बर्ष पुगेपनि हेर्दा दुधे बालक जस्तै देखिने पारस बुढाको उपचारकालागि सांसद बुढाले पचास हजार, कठायतले दश हजार र गुरुङ्गले तीन हजार सहयोग गर्नुभएको थियो ।

जिल्लाको दुर्गम गाउँमा जन्मिएका पारसको घरको आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न तराइका अस्पताल जान नसकेको समाचार नेपाल टेलिभिजनमा प्रशारण भएपछि सहयोग जुटेको हो ।

विभिन्न सहयोगी मनबाट आर्थिक सहयोग प्राप्त भएपछि परिवार खुशीका आँशु झार्दै अब भदौमा उपचारकालागि काठमाण्डौ लैजाने बताएका छन् । पारसको शारीरिक र मानसिक दुवै प्रकारको बृद्धि र विकास भएको पाइँदैन ।

उमेर बढेसँगै छोरो हुर्किदै जाने आशा गर्दागर्दै यस्तो अवस्था आएको आमा शान्ति बुढाको भनाई छ । छोरो तन्नेरी हुने उमेरमा चौध बर्षको छोरा आफ्नो चार बर्षको कान्छो छोरा भन्दा पनि सानो भएपछि ठुलो पीर परेको बुढा बताउनुहुन्छ ।

पारसको शरीरका सबै अंग अरु सामान्य बच्चा जस्तै छन्, तर छाती र नावी भने बाहिर निस्केको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.